काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरणपत्र पठाएको छ ।
एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले स्पष्टीकरणपत्र पठाइसकेको जानकारी दिएका छन् ।
‘पार्टी अनुशासन उल्लंघन गरेकाले पार्टी केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार उनीहरूलाई स्पष्टीकरणपत्र पठाइएको तामाङको भनाइ छ ।
सम्बन्धित व्यक्तिको हातहातैमा पत्र पुगिनसकेको भए पनि पत्र लिएर जाने व्यक्ति कार्यालयबाट हिँडिसकेको तामाङको भनाइ छ ।
माधवकुमार नेपाल समूहमा खुल्दै आएका १४ सांसद र ओली समूहमा रहेका ८ सांसदले देउवालाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण पत्र सोध्ने निर्णय गरेको थियो ।