राष्ट्रपति भण्डारी र केपी ओलीबीच दुई घण्टा लामो छलफल, के-के भयो कुराकानी ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दुई घण्टा लामो भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीबाट हटेको दुई साता नपुग्दै राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता भएको हो । यो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको हो ।

उच्च सुरक्षास्रोतका अनुसार अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच शुक्रबार बिहान ११ः४० देखि दिउँसो १ः४० सम्म भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीलतनिवासमा भएको भेटवार्ता के विषयमा केन्द्रित थियो भन्ने खुलेको छैन ।

यसअघि प्रधानमन्त्री रहेका बेला ओली र राष्ट्रपति भण्डारीबीचको मिलेमतोमा प्रतिनिधि सभा विघटन गर्नेदेखि विभिन्न अध्यादेश ल्याइएको भन्दै चर्को आलोचना भएको थियो । ओली गत असार २८ को सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्रीबाट हटिसकेका छन् ।

याे पनि समाचार 

अध्यादेश नल्याउन प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेवाङले सत्तापक्षलाई कटाक्ष गर्दै आफ्नो पार्टीमा अनुशासन लाग्ने, आफ्नो पार्टी बाहिर अनुशासन नलाग्ने कस्तो संसदीय प्रणालीको विकास गर्न खोजेको भनी सत्तापक्षसँग प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रतिपक्षका तर्फबाट सरकारलाई बधाई दिँदै नेवाङले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो पार्टीको निर्णय चाहिने तर एमालेले पार्टीगत निर्णय गर्दा भने स्वतन्त्र सांसदको नाम झुन्ड्याइदिने भनी प्रश्न गरे ।

उनले भने, ‘सम्मानीय प्रधानमन्त्रीले राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी गर्दै गर्दा त्यहाँ नेपाली कांग्रेसको निर्णयको चिठी प्रस्तुत गर्नुभएको छ । नेपाली कांग्रेस निर्णय गर्छ हाम्रो दलका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँछौं । साह्रै राम्रो कुरा हो । यो हो हाम्रो कल्चर । त्यसैगरी, अर्काेपार्टी माओवादी केन्द्रको पनि हामी समर्थन गर्छाै भनेर चिठी लेख्नुभएको छ । यो संविधानको धारा उपधारा अनुरुप नै हो । तर त्यही निवेदनमा तपाईहकरुले अरु दलका सांसदहरुलाई भने स्वतन्त्र सांसदका रुपमा नाम झुड्याइदिनुभयो । यो कसरी मेल खायो ?’

नेवाङले संसदीय प्रणालीमा सिस्टम भत्काउने काम वर्तमान सरकारले गरेको बताए । उनले भने,‘मैले विनम्रतापूर्वक यो कुरा उठाइरहेको छु, अन्यथा नलिनुहोला, सिस्टमका बारेमा कुरा गर्नका लागि अब यस बारेमा छलफल चलाऔं ।’

नेता नेवाङले एउटै नियम र पद्धति पनि आफ्ना र अर्कामा फरक हुनु कहाँसम्मको न्यायोचित हो भने प्रश्न गर्दै भने, ‘आफ्नो पार्टीभित्र भने अनुशासन चाहिने, आफ्नो पार्टीभन्दा बाहिर अनुशासन नचाहिने ? यो हो तपाईहरुको मान्यता ?’

संसदीय प्रणालीमा पार्टीको निर्णय सर्वाेपरी हुने बताउँदै नेवाङले बहुदलीय संसदीय प्रणालीमा पार्टीको ह्वीप दलका सबै सांसदमा लाग्ने बताए । उनले भने, ‘आफ्नो पार्टीभित्र भने पार्टीले निर्णय गर्नुपर्ने ? तर आफ्नो पार्टी बाहिर भने पार्टीले होइन, अरु ढंगले निर्णय गर्नुपर्ने ? हामीले कस्तो बहुदलीय प्रतिस्पर्धालाई अपनाएका छौं ? हामीले अपनाएको संसदीय प्रणालीमा जसलाई हाम्रो बहुदलीय प्रतिस्पर्धाको प्रणाली भनिएको छ । यसको मूल्य र मान्यता के हो ? यसमा ह्वीप लाग्दैन ?’

Leave a Reply

Your email address will not be published.