महाराजधिराजले हामीलाई आम माफी दिनुभएको छः माधव नेपाल

काठमाडौँ । नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपालले आममाफीको घोषणा गरेको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।

शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालले ओलीलाई ‘महाराजधिराज’को संज्ञा दिए । उनले भने, ‘हिजो महामहिम श्री ५ महाराजधिराबाट अभिव्यक्ति आयो माधव नेपालसहित मान्य सदस्यहरुलाई जति पनि स्पष्टीकरण सोधिएको छ, त्यसलाई आम माफी दिइन्छ । एम्नेष्टि इज ग्रान्टेड ।’

कटाक्षपूर्ण भनाइमा नेपालले थपे, ‘कति हामी गदगद भयौं । महाराजधिराजबाट उवाच । हामी गदगद भयौं वाह, वाह । महाराजधिराज कति खुसी भए छन्, हामीलाई आम माफी दिँदै छन् । नाँच्नुपर्ने भयो । यही हो प्रगति ? यहीलाई कम्युनिष्ट प्रवृत्ति भनिन्छ ?’

नेता नेपालले स्पष्टीकरण सोध्नु गल्ती थियो भनेर भन्नुपर्नेमा ओलीले त्यसो नगरेको टिप्पणी गरे। ‘स्पष्टीकरण सोध्नु गल्ती भयो, हतार गरेँ, मैले फिर्ता लिएको छु भनेको भए के हाइट घट्थ्यो ? ,’ उनले भने, ‘मर्यादा घट्यो ? डोरी जल्यो तर बाँधिएको गाँठो उस्ताको उस्तै छ । यस्तो पनि हुन्छ ?’

सत्ताबाट बाहिरिएपछि पनि ओलीको शैलीमा सुधार नआएको नेपालको ठम्याइ छ । उनले भने, ‘मान्छे सुध्रिएलान भन्यो । आज सुध्रिन्छन कि भन्या छ भोलि सुध्रिन्छन कि भन्या छ । केही नबोलेर हिजो मीठो मीठो शब्द पनि मैले बोलेँ पुष्पलाको कार्यक्रममा । ख्याल गरेर बोलेको छु । जिब्रोले बोल्दी पो हाल्लाकी भन्ने कत्रो चिन्ता ? बादशाहलाई घोडाबाट तल झारेपछि पनि नहुने रहेछ ।

याे पनि समाचार 

नेम्वाङको प्रश्न– आफ्नो पार्टीमा ह्वीप लाग्ने अरुकोमा नलाग्ने कस्तो कल्चर हो ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय दल, दलका नेता र आफ्नो तर्फबाट नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रतिनिधिसभामा नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिँदै उनले भने, ‘हामीले नयाँ प्रधानमन्त्री पाएका छौँ, बधाई दिन उभिएको छु, केही जिज्ञासा छन्, ती विषय सभामुखमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछु ।’

विसं २०४८ देखिकै संसद्मा प्रधानमन्त्री देउवासँग एमालेको मित्रता र उठबस रहेको स्मरण गर्दै पूर्वसभामुख नेम्वाङले भने, ‘हामी जिम्मेवार प्रतिपक्षको भूमिका खेल्छौँ, कस्तो संस्कृतिको विकास गर्ने भन्नेमा हामीले हेक्का गर्नुपर्छ ।’ कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति पृथकीकरण कायम गर्ने सन्दर्भमा सर्वोच्च अदालतको फैसलाले कमजोर तुल्याएको जनाउँदै तत्कालीन संविधानसभाका अध्यक्ष नेम्वाङले निर्वाचनमार्फत जनप्रतिनिधि चुन्न पाउने र ताजा जनादेशमा जाने कुरालाई निरङ्कुश भन्न नमिल्ने धारणा व्यक्त गरेका छन् ।

‘शक्ति सन्तुलनको सिद्धान्तका आधारमा सन्तुलन र समन्वय हुनुपर्छ, फैसलाबाट सन्तुलन खलबलिन पुगेको छ भन्ने भान भएको छ, यसमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु चाहन्छु,’ उपनेता नेम्वाङले भने, ‘बेठीकलाई बेठीक भन्छौं, जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्छौं, प्रत्येक मन्त्रालयको अनुगमन गर्छौं, सरकार के गर्दैछ भनी निगरानी राख्छौं, तपाईसँग सम्बन्ध राख्छौं, पार्टीभित्रका अरुसँग गठबन्धन गर्दैनौँ ।’

उनले दलबीच कतिपय विषय र मुद्दामा सिद्धान्त फरक धारणा, दृष्टिकोण र असहमति रहे पनि जनताले बनाएको संविधानमार्फत व्यवस्था गरिएको शक्तिपृथकीकरण, शक्ति सन्तुलन, लोकतन्त्र र दलीय अनुशासनका विषयमा भने देश पछाडि फर्कन्न भनी जनतालाई आश्वस्त तुल्याउन आवश्यक रहेको स्पष्ट पारे ।

आफ्नो पार्टीमा ह्विप लाग्ने तर अरु पार्टीमा ह्विप लाग्दैन भन्नु कति लोकतान्त्रिक हो भनी प्रश्न गर्दै नेम्वाङले अदालतबाट दलको निर्वाचन चिह्न र टिकटमा उठेको सांसदलाई पार्टीको नियन्त्रण नहुने व्यवस्थाले लोकतन्त्र र दलीय व्यवस्थालाई संस्थागत गर्न मलजल नगर्ने धारणा व्यक्त गरे ।

सरकार विस्तार गर्न ढिलाइ भएकाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै उनले शान्ति प्रक्रियालाई पूर्णता दिन तथा लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा सफलतापूर्वक कार्यान्वयनमा लैजाने सवालमा आफ्नो पार्टीको पूर्ण सहयोग र समर्थन रहेको विश्वास दिलाए । उनले मुलुकलाई विकासतर्फ लैजान अघि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षालाई पूरा गर्न सफलता मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

नेम्बाङले प्रधानमन्त्री देउवालाई आगामी निर्वाचन समयमै गराउन पनि सुझाव दिएका छन् । नेपाली कांग्रेसका सभापति देउवा अदालतको परमादेश अनुरुप गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *