इतिहास ताेड्दै १०६ प्रतिशतले बढ्यो मालपोत राजश्व, एक बर्षमा ५७ अर्ब ६८ करोड संकलन

काठमाडौं । कोभिड महामारीका बिचमा गत आर्थिक बर्ष ०७७/७८ मा इतिहासकै सर्वाधिक धेरै मालपोत राजश्व संकलन भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष कुल राजश्व संकलन १०६ प्रतिशतले बढेको छ ।

गत बर्ष देशभरका मालपोत कार्यालयबाट विभिन्न शिर्षकमा ५७ अर्ब ६८ करोड रुपैयाँ राजश्व संकलन भएको छ जबकी अघिल्लो बर्षको सोही अवधिमा २८ अर्ब ३ करोड ८० लाख रुपैयाँ राजश्व संकलन भएको थियो । गत बर्ष २९ अर्ब ६४ करोड २७ लाख रुपैयाँ राजश्व बढी संकलन भएको छ ।

यो अनलाइन प्रणाली लागू भइसकेका १२० मालपोत कार्यालयको तथ्यंक हो । अझै ६ वटा मालपोत कार्यालयको तथ्यांक आइसकेको छैन । तथ्यांक आइनपुगेका मालपोत कार्यालयमा न्यून कारोबार हुने विभागको भनाई छ ।

नेपालमा १२६ मालपोत कार्यालयहरु रहेका छन् । कोभिड महामारीकै बिचमा सबै मालपोत कार्यालय अनलाइन प्रणालीमा गइसकेका छन् ।

गत बर्ष मुलुकभरका मालपोत कार्यालयमा रजिष्ट्रेसन शुल्कबापत ३२ अर्ब ४७ करोड २० लाख रुपैयाँ संकलन भएको छ । यस्तै, १४ अर्ब १९ करोड ८२ लाख रुपैयाँ पुँजीगत लाभकर असुली भएको विभागको तथ्यांकले देखाउँछ । सेवा शुल्कवापत ३ अर्ब ५७ करोड ७ लाख रुपैयाँ संकलन भएको छ ।

उपत्यकामा मात्रै २२ अर्ब संकलन

काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका मालपोत कार्यालयहरुबाट मात्रै २२ अर्ब २८ करोड ४० लाख रुपैयाँ राजश्व संकलन भएको छ । उपत्यकाबाट उठेको राजश्व देशभरबाट उठेको कुल राजश्वमध्ये ३८.६३ प्रतिशत हो ।

नेपालमा सबैभन्दा बढी घरजग्गा किनबेच हुने र पुँजीगत लाभकर असुली हुने जिल्लामा काठमाडौं, भक्तपुर र ललितपुर अग्रस्थानमा आउँछन् । पछिल्लो समय काठमाडौं बाहिरका जिल्लाले किनबेचमा जित्न थालेपनि मोटो रकमको कारोबार उपत्यकामै हुने गरेको छ ।

गत बर्ष काठमाडौं उपत्यकामा रजिष्ट्रेशन शुल्कवात १४ अर्ब ९२ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै, पुँजीगत लाभकरवापत ६ अर्ब ७९ करोड ५१ लाख रुपैयाँ संकलन भएको विभागको तथ्यांकले देखाउँछ ।

उपत्यकाका तीन जिल्लामा ९ वटा मालपोत कार्यालय सञ्चलनमा छन् । काठमाडौंमा ६, ललितपुरमा २ र भक्तपुरमा १ मालपोत कार्यालय रहेका छन् ।

६ लाख २२ हजार घरजग्गा किनबेच, १७ लाख सेवा प्रवाह

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवमा घरजग्गा किनबेच करीव ९ प्रतिशतले बढेको छ ।

गत आवमा मुलुकभर ६ लाख २२ हजार १११ घरजग्गा किनबेच भएका छन् । जबकी अघिल्लो आवमा ५ लाख ६९ हजार ७३७ घरजग्गा किनबेच भएका थिए । घरजग्गा कारोबार संख्या अघिल्लो बर्षको तुलनामा गत बर्ष ५२ हजार ३७४ वटा बढी हो । गत बर्ष ८।४२ अंकले घरजग्गा कारोबार बढेको विभागको तथ्यांकले देखाउँछ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा बर्षभरिमा ७८ हजार ५५४ घजग्गा किनबेच भएका छन् । भक्तपुर, ललितपु र काठमाडौंमा ९ वटा मालपोत कार्यालयले घरजग्गा सम्बन्धी काम गर्दै आइरहेका छन् ।

गत आवभरीमा मुलुकभरका मालपोत कार्यालयबाट १७ लाख २८ हजार ५२९ सेवा प्रवाह भएको विभागको तथ्यांकले देखाउँछ । मालपोत कार्यालयहरुले लिखत पारित, नामसारी, रोक्का, फुकुवा, संसोधन, प्रतिलिपि, अपार्टमेन्टको लिखत पारित, अंशबण्डा लगायत विभिन्न शिर्षकमा सेवा प्रदान गर्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published.