युथफोर्स र अखिल फोर्स खारेज गरौं : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल समूहले युथफोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाउँदै खारेज गर्न माग गरेका छन् ।

पार्टीमा रहेको अनेरास्ववियू र युवा संघलाई ओझेलमा राखेर गठन गरिएका युथफेर्स र अखिल फोर्सले समाजमा आतङ्कको आभाष दिएको भन्दै उनले खारेज गर्न माग गरेका हुन् ।

अनेरास्ववियू र युवा संघ क्रियाशील रहिरहेको विद्यमान अवस्थामा समूहमार्फत अन्य संगठन तयार गर्नुको कुनै औचित्य नभएको समेत उनले दाबी गरेका छन् । ‘अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ?,’ भट्टराईले प्रश्न गरेका छन् ।

एमालेभित्र हालै मात्र गुटगत संगठनहरु निर्माण भएका छन् । समानान्तर जनवर्गीय संगठन निर्माण गरेका माधव समूह निकट अनेरास्ववियुले अखिल फोर्स निर्माण गरेको छ । अध्यक्ष ओली पक्षले युथ फोर्स ब्युँताएपछि नेपाल समूहले अखिल फोर्स तयार गरेको हो । नेपाल निकट युवा संघले पिपुल्स भोलिन्टियर ‘पीभी’ ब्युँताएको छ ।

युथफोर्स र अलिख फोर्स गठनप्रति नेता भट्टराईको धारणा यस्तो छ–

ऐतिहासिक र गौरबशाली ईतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन/ क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौ युवाहरुलाई राजनीतिक/ बैचारिक शिक्षा मार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ?

समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समुहहरु तत्काल खारेज गर्नु पर्दछ । अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई सहि नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ ।

के काम हुन्छन जो युवासंघ र अनेरास्वबियूले गर्न नसक्ने तर युथफोर्स र अखिलफोर्सले मात्र गर्नसक्ने ? पञ्चायत अखिलले नै फाल्यो । २०४८ पछिको कांग्रेसको राज्य आतंकसँग अखिल नै लड्यो । माओवादीको १० बर्षे हिंसाको प्रतिबाद यिनै अखिल र युवासंघले गरे ।

पार्टीभित्रका गुटहरुमा बैचारिक चरित्र सकिंदै जाँदा एक आर्काका बिरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो ? यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आँफैले खनिरहेको स्वीकार गर्नु पर्दछ ।

शान्तिपूर्ण र बैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रनदिने जस्ता बिशेषता सहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होईन ।

तसर्थ: यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समक्ष हार्दिक अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published.