काठमाडौं । नेपालका कल्पना परियार र सोनिया भट्ट टोकियो ओलम्पिकको आफ्नो पहिलो खेलमै पराजित भएका छन् । सुटिङको महिला दश मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएपनि फाइनल चरण पुग्न सकिनन् । जुडोकी सोनियाको चुनौती पनि राउन्ड अफ ३२ मा नै समाप्त भयो ।
आज विहान भएको खेलमा कल्पनाले ६ सय १६.८ स्कोर गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेकी हुन् । सन् २०१९ मा काठमाडौंमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागमा उनले ६ सय १४ंं. ५ स्कोरको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । टोकियो ओलम्पिकमा कल्पनाले राष्ट्रिय कीर्तिमान सुधारको लक्ष्य राखेकी थिइन् । जसमा उनी सफल भइन् । कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ र तेस्रोमा १०१.१ स्कोर बनाएकी थिइन् । चौथोमा १०४.१, पाँचौमा १०३.४ स्कोर गरेकी कल्पनाले अन्तिममा भने फितलो प्रदर्शन गरेकी थिइन् ।

शीर्ष आठमा रहने खेलाडीले फाइनल चरणमा प्रतिस्पर्धा गरेका थिए । कल्पना ५० जना सहभागी मध्ये समग्रमा ४६ औं स्थानमा रहिन् । नेपाल भन्दा पछाडि बोस्निया, श्रीलङका, शरणार्थी टिम र किर्गिस्तान रह्यो ।
जुडोकी सोनियाले ४८ केजी मुनि तौल समुहमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी रुसकी इरिना डोल्गोभासँग हरोकी हुन् । इरिनाले इप्पोन जोड्दै सोनियालाई पराजित गरिन् । १९ वर्षिया सोनिया मात्र एक मिनेट १६ सेकेन्ड टिकेकी थिइन् । टोकियो ओलम्पिकमा सोनियाले एक बाउट जित्ने लक्ष्य राखेकी थिइन् । तर वलियो प्रतिद्धन्दी इरिनाको चुनौती सामना गर्न सकिनन् ।
नेपालका पाँच खेलाडीले सहभागिता जनाएको टोकियोमा दुइ खेलाडीको प्रतिस्पर्धा सकिएको छ । अब पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथ्लेटिक्सकी सरस्वती चौधरीको खेल बाँकी छ ।
जुलाई २७ मा पौडीका एलेक्स शाहले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले सोही इभेन्ट्समा खेल्ने तालिका छ।
जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिनेछिन्।
जुलाई २७ मा पौडीका एलेक्स शाहले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले सोही इभेन्ट्समा खेल्ने तालिका छ।
जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिनेछिन्।
कराँते, भारोत्तोलन, बक्सिङ, आर्चरी र तेक्वान्दोका खेलाडीहरूले वाइल्ड कार्ड पाउन सकेनन्।
त्यस्तै पाराओलिम्पिक्समा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन्। उनीबाट पदकको आशा समेत गरिएको छ।