देखाउन थालिसके देउवाले पनि पारा, ‘खल्ती’का मान्छेलाई स्वास्थ्य राज्यमन्त्री !

काठमाडौं । नेपालीमा एउटा उखान छ, ‘जुनै जोगी आएनी कानै चिरिएका’ । त्यही उखानलाई चरितार्थ गर्छन्, नेपाली नेताहरु । सत्तामा चाहे जुनै पुगोस्, पारा उही । ढिपी आफ्नै । कम्युनिष्ट प्रधानमन्त्री भएर पनि हदैसम्म गिरेर ‘नाक काटे’ भनेर भरखरै खड्गप्रसाद शर्मा ओलीको बहिर्गमन भयो ।

ओली असफल भएपछि दलीय–निर्दलीय गठबन्धनले पहिले चार पल्ट सत्ताको स्वाद चाखिसकेका शेरबहादुर देउवालाई बागडोरको साँचो सुम्पियो । त्यो पनि अदालतको हुर्मत लिएर । अदालतलाई यो मान्छेलाई, यसरी, यति दिन, यति घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर ! भनेर सर्वोच्च न्यायालयको हुर्मत लिँदै सत्ताको भ¥याङ चढाइएका शेरबहादुरले पनि पारा देखाउन थालिसके । भन्छन् नि, सानैदेखि लागेको बानी !

उनले आफ्नो असाध्य निकट शिक्षा व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन् । उमेश आफैं सफल व्यवसायी हुन् । उनले सत्ताको स्वाद चाख्नुपर्ने कारण के छ ? त्यसै त सरकारमा उद्योगी व्यापारी प्रवेश गरेपछि तहसनहस भो र ‘जनता मरे’ भनिँदैछ । ओलीको सफलताका तगारो पनि यस्तै व्यापारी कहलिएको तीतो यथार्थ समेत ताजै छ । ओलीले सुरु राज्यमन्त्री बनाएका र पछि आर्थिक सल्लाहकार बनाएका मोतीलाल दुगड किस्साबाटै धेरै कुरा थाहा हुन्छ, धेरै पर जानै पर्दैन ।

यस्तो थाहा पाउँदा पाउँदै शेरबहादुर किन सच्चिएनन् ? आम नागरिकले प्रश्न गर्न थालिसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी तोक्नासाथ माहोल तातिसकेको छ । भनिदै छ, ‘निजी अस्पतालमा लगानी बढाएका उमेशलाई नै स्वास्थ्य राज्यमन्त्री किन ? यस्तो चकित पार्ने काम किन गर्छन्, नेपालका शासकहरु ?’

श्रष्ठले पछिल्लो समय निजी अस्पतालमा लगानी बढाउँदै लगेका छन् । शिक्षा, बैंकलगायत कोरोना कालपछि स्वास्थ्य क्षेत्रमा समेत व्यापार सुरु गरेका उनले आफ्नो लगानीको लाभ सुनिश्चित गर्न सम्बन्धित विभागीय मन्त्रालयको जिम्मेवारी लिएको अड्कल काटिँदैछ ।

निजी अस्पताल सञ्चालनको अनुमतिदेखि नियमनसम्म मन्त्रालयले गर्ने भएकाले उनले स्वास्थ्य क्षेत्र रोजेको बताइँदै छ । यो वर्ष अस्पतालमा उनले ५० करोड रुपैयाँ लगानी गर्न लागेको कुरा उनले केही समय पहिले मात्रै नेपाली सञ्चारमाध्यमलाई बताएका थिए । ललितपुरको एकान्तकुनामा हेलोइस नामक बुटीक अस्पताल खोल्ने तयारी गरेका छन्, श्रेष्ठले । त्यो अस्पताल उच्च आय भएको वर्गलाई लक्षित गरेर सञ्चालनमा ल्याउन लागेको उनी आफैँले भनेका छन् ।

जनमैत्री फाउण्डेसनले सञ्चालन गरेको जनमैत्री अस्पताल उनकै नेतृत्वमा छ । श्रेष्ठले महेन्द्र नारायणनिधि अस्पताल ट्रष्टको अध्यक्षता समेत गरिरहेका छन् । काठमाडौं उपत्यकासँगै उनले चितवन, नुवाकोटमा समेत अस्पताल खोल्ने योजना अघि बढाएका छन् । शिक्षा व्यवसायीबाट अस्पताल व्यवसायीको समेत परिचय बनाउँदै गएका श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मा दिएर देउवाले राम्रो नगरेको धेरैको टिप्पणी छ । र, यसमा ठूलो चलखेलको आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published.