प्रधानमन्त्री ओलीले गुमाए विश्वासको मत, स्वतः पदमुक्त

काठमाडाैं । संसद्को विश्वास प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन्।

प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभा समक्ष राखेको विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्तावको पक्षमा ९३ मत मात्रै परेकाले उनी पदमुक्त भएका हुन्।प्रधानमन्त्रीका रूपमा निरन्तरताका लागि ओलीलाई प्रतिनिधि सभामा कायम कुल २७१ सांसदको बहुमत अर्थात् १३६ मत आवश्यक थियो।

२३२ जना सांसद उपस्थित प्रतिनिधि सभाको विशेष बैठकमा प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको विपक्षमा १२४ मत पर्‍याे भने १५ जना सांसदले पक्ष वा विपक्षमा मतदान गरेनन्।

प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा १२४ मत परेका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले विपक्षमा मतदान गरे।

त्यस्तै, जसपाकै अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका सांसद तटस्थ बसे। नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद बैठकमा सहभागी भएनन्।

माओवादीले समर्थन फिर्ता नलिँदै प्रधानमन्त्री ओलीले संविधानको धारा १०० को प्रावधान अनुसार, विश्वासको मत लिएका थिए। धारा १०० को उपधारा (१) मा भनिएको छ, “प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्नेछ।”

प्रधानमन्त्री ओलीले संसद्‌मा विश्वासको मत गुमाएसँगै संविधानको धारा १०० को उपधारा (३) बमोजिम पदमुक्त भएका छन्। उपधारा (३) मा संसद्‌मा ‘पेश भएको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ’ भन्ने उल्लेख छ।

उनी नेकपा (माओवादी केन्द्र)को समर्थनमा ३ फागुन २०७४ मा प्रधानमन्त्री नियुक्त भएका थिए।

अब राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम दलहरूलाई मिलिजुली सरकार गठन गर्न निश्चित समय दिएर आह्वान गर्ने सम्भावना छ। तर, प्रधानमन्त्री ओली निकटस्थहरू भने संविधानको धारा ७६ (३) बमोजिम प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको नेताका रूपमा ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्त गर्नुपर्ने बताउँछन्।

प्रधानमन्त्री ओली पदमुक्त भइसके पनि नयाँ प्रधानमन्त्री नियुक्त नहोउन्जेल उनैले कामचलाउ प्रधानमन्त्रीका रूपमा काम गर्नेछन्।

प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गर्दै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सभाको अर्को बैठक ३० वैशाख दिउँसो १ बजेका लागि बोलाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *