कोरोना महामारीमा किरात राईहरुको स्वास्थ्य उपचार अभ्यास

रोशनी राई
इन्डिजिनियस फिचर सेवा

उदयपुर । बिश्वव्यापी फैलिएको कोरोना महामारीका क्रममा विभिन्न आदिवासी जनजातिहरुले परम्परागत ज्ञानमा आधारित उपचार पद्यतिको अभ्यास गरेका छन् ।

‘स्वास्थ्य उपचारमा सवै आदिवासीको आफनो आफनो परम्परागत ज्ञानमा आधारित उपचार पद्धति हुन्छ । किरात राईहरुले पनि यसको अभ्यास गरेका छन् ।’ किरात राई संस्कृतिका अध्येता डा भक्त राईले भन्नु भयो -‘आधुनिक चिकित्सा विज्ञानको प्रारम्भ हुन भन्दा अगाडि नै प्रयोगमा आएको परम्परागत उपचार पद्धति नै कोरोना महामारीमा पनि अभ्यास भएको हो । औषधि र खोपको अभाव व्यहोरिरहेको देशमा यस प्रकारको उपचार प्रति आम नागरिकको अत्याधिक विश्वास र आकर्षण रहेको छ ।’

किरात राई संस्कृति सम्बन्धि अनुसन्धान गरिरहनु भएका प्रविण पुमाले आफु कोरोना संक्रमित हुँदा परम्परागत उपचार विधिबाट नै स्वस्थ भएको दावी गर्नू भएको छ । अस्पतालमा डाक्टरहरुसंग परामर्श लिए पनि घरैमा परम्परागत औषधीको सेवनले कोरोना जितेको उहाँको विश्वास छ ।

‘कोरोना संक्रमण भए पछि घरैमा परम्परागत घरेलु जडिबुटीबाट निर्मित औषधि मैले लिए, म जस्ता धेरैजनाले घरेलु औषधि सेवन गरेर कोरोना जितेका छन् ।’ पुमाले थप्नु भयो-‘यस्तो औषधिय ज्ञान सबैमा चाही हुँदैन, किरात बिश्वास अनुसार माङ्पा वा दुमालगायतमा मात्र यस्तो ज्ञान हुन्छ ।’

तर स्वास्थय सेवा विभागका पूर्ब महानिर्देशक डा. मिङमार ग्याल्जेन शेर्पा भने यस प्रकारको अप्रमाणित तथ्यहरुमा विश्वास गर्न नसकिने बताउनु हुन्छ । ‘घरेलु औषधि विश्वास मात्र हो, यसको वैज्ञानिक तथ्य प्रमाणित छैन ।’ उहाँले बताउनु भयो ।

तन्त्रमन्त्र र जडिबुटीको योग

परम्परागत स्वास्थ्य उपचार पद्धति आदिवासी ज्ञानमा आधारित परम्परागत पद्धति हो । आधुनिक चिकित्सा विज्ञानको प्रारम्भ नहुँदै यस्तो उपचार पद्धतिको अभ्यास हुने गरेको संसस्कृतिविद् डा. राईको भनाई छ । प्रकृतिसंग निकट सम्बन्ध भएका आदिवासी जनजातिहरुले यस्तो ज्ञान प्रकृतिको उपभोग गरेबाट सिकेको आदिवासी ज्ञानका क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ताहरुको दावी छ ।

संस्कृतिविद् डा. राईका अनुसार यस्तो उपचार पद्धति दुई प्रकारका हुन्छन् । आदिवासीहरुको विभिन्न ज्ञान मध्ये परम्परागत उपचार पद्धति पनि एक हो । ‘यो उपचार पद्धति एउटा तन्त्रमन्त्रद्धारा गरिने उपचार हुन्छ भने अर्को जडिबुटिद्धारा गरिने उपचार पद्धति हुन्छ ।’ डा राईले भन्नुभयो-’तन्त्रमन्त्र विधि हरेक समुदायमा हुन्छ । राईहरुले माङ्पा भन्छन् लिम्बुले फेदङबा, दरैले गुरवु, तामाङहरुले वोन्वो, थारुहरुले गुरुबा र लाप्चाहरु बुङ्थीङ भन्छन् । पश्चिमतिरको क्षेत्रीहरुको मष्टो धामी हुन्छ, सुदुपश्चिमको देवाली धामी भनिन्छ ।‘

तन्त्रमन्त्रबाट उपचार गरिए पनि यसमा बिज्ञान हुने उहाँको तर्क छ । उहाँको दावी अनुसार गाउँघरमा झारफुक भन्नु तन्त्रमन्त्र र जडिबुटिको योग हो ।

‘झार भनेको जडिबुटि र फुक भनेको तन्त्रमन्त्र हो । यो अन्ध विश्वास भन्दा पनि आदिवासीय ज्ञान र मनोवैज्ञानिक, सामाजिक विश्वास तथा प्रकृति तथा प्राकृतिक बस्तुको शक्ति अन्तरनिहित हुन्छ,’-उहाँले भन्नु भयो ।

आर्यहरु दक्षिण एसियामा भारतिय उपमहाद्विपमा आउनु अघि नै यो उपचार पद्यति यहाँका रैथाने किरातीहरुमा प्रचलित रहेको सन्दर्भ पनि उहाँले सुनाउनु भयो । डा. राई थप्नु हुन्छ-‘ आर्यहरु भारतीय उपमहादेशमा गंगाको तटमा आए पछि किरातीहरु र उनीहरु बिच भेट भयो । यसबाट उनीहरुले पनि यो ज्ञान सिके । सबैभन्दा पुरानो वेदहरु ऋग वेद, यजुर्वेद र साम वेदमा यो ज्ञान उल्ल्ेख छैन । तर अथर्व वेदमा उल्लेख छ । यसको अर्थ के हो भने अन्तिम अवस्थामा संकलन गरिएको वेद भनेको अर्थव वेद हो । प्राचिन कालमा यहाँका रैथानेहरुबाट सिकेर संकलन गरिएको यो ज्ञानको संकलनका रुपमा आएको लिखत दस्तावेज हो । यसबाट पनि यो ज्ञान प्राचीन भएको प्रमाणित हुन्छ ।’

संरक्षण र पुस्तान्तरमा चुनौति

परम्परागत ज्ञान संरक्षणमा र पुस्तान्तरणमा समस्या रहेको किरात राई सम्बधि अनुसन्धान गरिरहनु भएका अर्का अनुसन्धानकर्ता प्रबिण पुमा बताउनु हुन्छ । ‘सहज पुस्ता हस्तान्तरणका लागि सम्बन्धित समुदायमा चेतना हुनुपर्दछ । दास्रो अध्ययन अनुसन्धान गरि ति ज्ञानहरुलाई प्रकाशनमा ल्याउने गर्नुपर्छ ।’ पुमाले थप्नु भयो -‘समस्या कहाँ निर छ भने धेरैजसो चाहि यो ज्ञान अरुलाई सिकाउनु हुँदैन भन्ने किरात राई समाजको मान्यता छ । त्यो मनोविज्ञानको शिकार म आफ्ै भाको छु । कोही मान्छेले माङ्पा (ज्ञान धारक व्यक्ति) सिक्छु भनेको खण्डमा तुरुन्त सिकाउने अवस्था छैन । मेरो घरमा दुई दुई जना माङपा हुनुहुन्छ ज्ञान सिकाउनु हुन्न भन्नुहुन्छ, सिकाउँदा मुख बाङ्गो हुने कुरा गर्नुहुन्छ । यसैले यसमा पहिलो कुरा भनेको यो कुरा बाँडदा पनि हुन्छ भन्ने चेतना अभिबृद्धि हुनुपर्दछ ।’

आदिवासी किरात राई अन्तर्गत वान्तवा भाषाको प्रबद्र्धनमा सक्रिय सञ्चारकर्मी रीता राई राराहाङ भने यस प्रकारको परम्परागत ज्ञानका कारण समाजमा स्वास्थ्य उपचारमा सहज भएको बिचार राख्नु हुन्छ ।

‘हाम्रो गाउँघर इलाममा अहिले पनि परम्परागत उपचार पद्धतिमा नै निर्भर छौ । स्थानीयबासीहरु गम्भीर रोग नलागी अस्पताल जाने प्रचलन पनि छैन ।’ सञ्चारकर्मी राईले बताउनु भयो -‘उदाहरणको लागि अस्पताल जनुनै परे खुट्टा बाँचेको अवस्थामा एक्सरे गर्न मात्र जाने गरेको छन् । हाम्रो तिर परम्परागत उपचार जान्ने व्यक्ति देवा हुनुहुन्छ । उहाँले सम्पुणर् उपचार गर्नु हुन्छ । सर्पदंश देखि ग्यास्ट्रिकको उपचार उहाँले नै गर्नू हुन्छ । आगोले जलेको छ भनेपनि अस्पताल जाने चलन रहेको छैन ।’

‘जरो आएको अवस्थामा तितेपाती तातोपानीमा राखेर बाफ लिने गरिन्छ, धेरै नै जरो आएको छ भने चिरैतो एक चम्चा पानीमा राखेर खाने गरिन्छ । दाँत दुख्दा पनि झारपातनै प्रयोग गरिन्छ । यो पद्धतिको आफनो अघिल्लो पुस्ताले आफुहरुलाई सिकाउँदै र जडिबुटिहरु चिनाउदै आएका हुन् ।’ राईले बताउनु भयो ।

भाषा बाँचे, ज्ञान पनि बाँच्छ

परम्परा ज्ञानलाई संरक्षण गर्न भाषाको संरक्षण गर्नू पर्ने आदिवासी अभियन्ताहरुको तर्क छ । ‘भाषा बाँचे मात्र ज्ञान पनि संरक्षण हुन्छ ।’ संस्कृति विद् डा. राईले भन्नु भयो ‘परम्परागत ज्ञान भनेको यो राष्ट्रकै सम्पती हो । एउटा भाषा मर्नु राष्ट्रको सम्पती मर्नु हो र एउटा ज्ञान मर्नु भनेको पनि राष्ट्रले गुमाउनु हो । यसैले सरकारी तहबाटनै भाषा संरक्षण गरेर ज्ञानको प्रबद्र्धन गर्नू पर्छ ।’

स्थानीय, प्रदेश र संघ सरकारले आदिवासी ज्ञान संरक्षणको कार्यक्रम ल्याउनु पर्नेमा उहाँको जोड थियो । ‘स्थानीय सरकारले पालिकाको प्रतेक वडामा बसोबास गर्ने जातजाति कति छन र तिनीहरुको परम्परागत उपचार पद्धतिको ज्ञान कस्तो छ भनेर अनुसन्धान गरि अभिलेखिकरण गनुपर्ने देखिन्छ ।’ डा. राईले भन्नु भयो ‘त्यहाँ बसोबास गर्ने तामाङ, मगर, गुरुङ, खसआर्य सम्पुणर्ले गरिने उपचार पद्धतिको विषयलाई संकलन गरेर एकीकृत तालिम दिन पर्छ ।’

‘ग्रामिण भेगमा विश्वकै शक्तिशालि डाक्टर गएपनि उनीहरुले विश्वास गर्दैनन् । बरु धामीझाँक्रीमै विश्वास गर्छन् । तन्त्रमन्त्र मात्र नभई जडिबुटिको पहिचान गर्ने देखि यसको प्रयोग गर्नेसम्मका क्रियाकलापमा एकरुपता र वैज्ञानिक अनुसन्धान गर्न आवश्यक छ ।’ डा. राईको सुझाव छ, -‘हामी सबैलाई उपचार गरिदिने धामी, झाक्री तथा औषधि उपचारका अभ्यासकर्ताहरुलाई तलब दिएर राख्ने अभ्यास गर्नू छ । मन्दिरको पुरोहीतलाई सरकारले तलब दिएर राखेको छ भने समाजमा स्वास्थ्य उपचार गर्ने माङ्पालाईतलव दिएर राख्न किन नहुने ? स्थानीय सरकारले बजेट छुट्टयाने सरकारी तहको खरीदार र सुब्बाको जति तलब दिन नसकेनी सामान्य जिविकोपार्जन गर्नसक्ने मासिक तलब दिनु पर्छ ।’

Leave a Reply

Your email address will not be published.