नेपालमा बाघ बढे, बासस्थान र आहारा अभावले सम्हाल्नै गाह्रो

काठमाडौं । बाघको संख्या बढ्यो । तर, फसाद भो त्यति धेरै बाघ कहाँ राख्ने ? अभाव भो, वासस्थानको ।

सन् २०२२ अर्थात् आगामी अंग्रेजी नयाँ वर्षसम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता थियो, नेपालको । र, बाघको संख्या दोब्बर बनाउने सरकारी प्रतिबद्धताको समय आउदो अंग्रेजी वर्ष पूरा हुँदै छ ।

बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियामा भएको सम्मेलनमा नेपालले बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता जनाएको हो । नेपालले प्रतिवद्धता जनाउँदा (२०१० मा) बाघको संख्या १२१ थियो । दोब्बर भन्नेवित्तिकै त्यो संख्या आउँदो वर्ष २४२ हुनुपर्छ । तर, नेपालले दोब्बरभन्दा पनि बढी २५० पुर्‍याउने प्रतिबद्धता जनाएको थियो ।

सन् २०१८ को गणनामा बाघको संख्या २३५ थियो । त्यसकारण नेपालले राखेको लक्ष्य सहजै पूरा हुने सरकारी अधिकारीहरुको विश्वास छ । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बुद्धि पौडेलका अनुसार तीन वर्ष अघिको गणनामै बाघको संख्या २३५ रहेकाले लक्ष्य पूरा गर्न गाह्रो हुँदैन । तर, यकिन संख्या गणनापछि नै थाहा हुने उनको भनाई छ । अहिले २५० भन्दा बढी नै बाघ छन् भन्ने हाम्रो अनुमान छ, भन्छन् पौडेल ।

आगामी नोभेम्बरदेखि बाघको गणना शुरू गरेर प्राप्त तथ्यांक विश्लेषणपछि सन् २०२२ मा बाघको संख्या सार्वजनिक गर्ने विभागीय वन मन्त्रालयको तयारी छ ।

तर, चोरी शिकार, वन विनाश र जनघनत्व वृद्धिका कारण बढेको अतिक्रमणले बाघको वासस्थान भने संकटमा परेको छ । यस्तै, आहारा प्रजाति पनि घट्दो छ । यसबाट विश्वबाटै बाघ लोप हुने स्थितिमा पुगेको छ । यहि चिन्ता गरेर पाटे बाघ पाइने देशहरूले सेन्ट पिटर्सबर्ग सम्मेलनमा बाघको संख्या बढाउने प्रतिबद्धता जनाएका थिए ।

जैविक विविधताको सूचकका रूपमा लिइने बाघको संख्या लोप भए त्यसले मानव जीवनको भविष्य नै प्रभावित हुने चिन्ताले बाघ संरक्षणमा जोड दिएको हो ।

लक्ष्य अनुसार बाघको संख्या वृद्धि हुनु सुखद हो । तर, चुनौती झन् चुलिएको छ । नेपालमा बाघ पाइने क्षेत्र निश्चित मात्रै छन् । चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज बाघका प्रमुख वासस्थान हुन् । सन् २०१८ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ९३ र बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा बाघ पाइए ।

यी दुई निकुञ्ज बाहेक बाँके, पर्सा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पनि बाघका वासस्थान हुन् । गणनाको क्रममा बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ देखिएका थिए ।

वासस्थानको अवस्था, आहारा प्रजातिको पर्याप्तता र पानीको उपलब्धताले कुन स्थानमा कति बाघ रहन सम्भव हुन्छ भन्ने निर्धारण हुन्छ । बाघ विज्ञका अनुसार नेपालका निकुञ्जहरूले धेरै बाघ धान्न सक्ने अवस्था छैन ।

Leave a Reply

Your email address will not be published.