सिन्धुपाल्चाेक । मेलम्ची नदीमा लेदोसहित फेरि बाढी आएको छ। गएरातिदेखि आएको बाढी अझै थामिएको छैन। माथिल्लो तटीय क्षेत्रमा वर्षासँगै पहिरो गएकाले बाढी आएको स्थानीय बासिन्दाले बताएका छन्। बाढीले रेडियो मेलम्चीको भवन र रातो पुल बगाएको छ।
त्यस्तै, बाढीका कारण मेलम्ची बजारका बासिन्दा पुनःविस्थापित भएका छन्। स्थानीय प्रहरी चौकी पनि विस्थापित भएको छ। गएराति १० बजेदेखि बाढी आएको मेलम्चीका स्थानीय हस्त पण्डितले बताए। उनका अनुसार, अहिलेसम्म पनि नदीको बहाव निरन्तर छ।
गत १ असारमा आएको बाढीले कटान गरेको तथा बाढी पसेको स्थानमा फेरि बाढी पसेको छ। मेलम्चीको जलाधार क्षेत्रमा पहिरो गएर नदी थुनिएपछि बाढी आएको हुनसक्ने अनुमान गरिएको उनले बताए। बाढीले चनौटे बजारभन्दा माथि किनार कटान गरेको र कटान नरोकिए थप क्षति हुनसक्ने स्थानीय बासिन्दाले बताएका छन्।
बाढीका कारण रेडियो मेलम्चीको भवन बगेको छ। १ असारमा आएको बाढीले रेडियोको भवन वरपर लेदो माटोले पुरिएको थियो। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शनिबार साँझ सूचना जारी गरेर नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।