सरकारलाई सर्वोच्चको आदेश– कोरोनाको उपचारका लागि अक्सिजनको अभाव हुन नदिनू

काठमाडाैं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमित बिरामीको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन सरकारलाई आदेश दिएको छ।

न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गर्दै भनेको छ, “संक्रमितको उपचारका लागि आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाउनू, थप साधनयुक्त अस्पतालहरू सञ्‍चालनमा ल्याउनू साथै अस्पतालहरूमा बिरामीहरूको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्नू।”

अधिवक्ता शैलेन्द्रप्रसाद अम्वेडकरले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले संक्रमित व्यक्तिहरू दिनदिनै बढ्दै गइरहेकाले कोही पनि उपचारबाट विमुख हुन नपर्ने व्यवस्था गराउन सरकारका नाममा आदेश दिएको हो।

अन्तरिम आदेशमा सर्वोच्चले कोभिड संक्रमण र नागरिकको जिउज्यानसँग सम्बन्धित विषयवस्तु भएको निवेदनलाई चाँडै टुंगो लगाउनुपर्ने भन्दै ९ जेठमा सुनुवाइ गर्न भनेको छ। स्वास्थ्य मन्त्रालय लगायतका सरकारी निकायले त्यसअघि नै सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउनुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *