पूर्वमाओवादी सांसदको पद पुनर्बहाली गर्न सर्वोच्चले मानेन, यी चार नेता भए घर न घाट

काठमाडाैं । सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निष्कासनमा परेका एमाले नेताको सांसद पद पुनर्बहाली गर्न अस्वीकार गरेको छ ।

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

स्पष्टीकरणको मौका दिई सांसद पदबाट हटाएको देखिएको भन्दै सर्वोच्चले अन्तिम सुनुवाइका बेला बाँकी विवाद निरुपण हुने भनी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

एमालेमै फर्किइन् लुम्बिनीकी प्रदेश सांसद ओली, के हुन्छ सत्तासमीकरण ?

लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री ओलीले आफू नेकपा एमालेमै फर्किएको बताएकी छन् ।

आज सोमबार एक विज्ञप्ति प्रकाशित गरी उनले आफू सूर्य चिह्नबाट निर्वाचित भएको भन्दै एमालेमै फर्किएको बताएकी हुन् । तत्कालीन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित उत्तरकुमार ओलीको मृत्यु भएपछि उनकी पत्नी विमला उपनिर्वाचनमा विजयी भएकी थिइन् । उनी नेकपा एमालेमा फर्किएपछि ८० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सांसद संख्या ३९ पुगेको छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १९, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *