कसरी चोरिन्छ मोटरसाइकल तथा स्कुटरहरू ?

काठमाडौं । उपत्यकाबाट चोरी भएका तथा हराएका मोटरसाईकल प्रहरीले फेला पर्दैन होला भन्ने सवारी धनीको दुविधा एव भ्रमलाई ट्राफिक प्रहरी महाशाखाले गलत सावित गरिदिएको छ ।

उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्न निरन्तर रूपमा बिशेष अपरेसन टोली परिचालन गरी चोरी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गर्दै आएको छ ।

आज मंगलबार मात्रै विभिन्न मितिमा हराएका २३ वटा मोटरसाइकल आज एक कार्यक्रमकाबीच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण गरिएका २३ वटामध्ये १२ वटा पल्सर मोटरसाइकल र ११ वटा अन्य कम्पनीका रहेको प्रहरीले बताएको छ ।

कसरी चोरिन्छ त मोटरसाइकल ?

चालकले सुरक्षा अपनाउँदा–अपनाउँदै र सुरक्षाकर्मीले निगरानी गर्दागर्दै यतिका चोरीका मोटरसाइकलहरु कता जान्छन् ? कसरी चोरिन्छ ? तपाईको मनमा जिज्ञासा उठ्न सक्छ ।

ट्राफिक प्रहरीको अनुसन्धान अनुसार काठमाडौंका अस्पतालहरू, पार्टी प्यालेसहरू तथा विभिन्न स्थानमा रहेका एकान्त पार्किङमा जाने र लक तोडेर मास्टर चावी प्रयोग गर्ने वा सिधै तार जोडेर चोरी गर्ने पाइएको छ । यसरी चोरी गर्नुपूर्व उक्त मोटरसाइकल र चालकको गतिबिधि निगरानी गर्ने, मौकाको खोजी गरी उपयुक्त समयमा विभिन्न तरिका अपनाएर चोरी गर्ने गर्दछन् भने संलग्न सदस्यहरुको आ–आफ्नै भूमिका हुने गर्दछ ।

चोरी पश्चात वर्कसपमा गएर स्वरुप परिर्वतन गर्ने, नम्बर प्लेट फेरेर विक्री गर्ने तथा आफैले समेत चलाउने गरेको, पार्टसहरू खोलेर विक्रीवितरण गर्ने गरेको अनुन्धानबाट खुलेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

विशेष गरी चोरी गर्ने समूहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको देखिन्छ । युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढी भएकाले पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको महाशाखाको बुझा छ ।

सवारीसाधनमा अतिरिक्त ह्विल लक, डिस्क लक, सेक्युरिटी साइरनहरु जडान गर्न, लामो समयसम्म एकान्त स्थानमा पार्किङ्ग नगर्न र जथाभावी पार्किङ्ग नगर्न महाशाखाले बिशेष अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published.