निर्देशकबाट माफिया बनेर बर्खास्त भए ओलीका विश्वासपात्र जागेश्वर गाैतम

काठमाडौं । ओली सरकार रहँदा विवादित नियुक्ति पाएका डाक्टर जागेश्वर गौतम कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीबाट हटाइएका छन्। निर्देशक नियुक्त भएदेखिनै विवादित बनेका गौतमलाई सरकारले सोमबार राज्यमन्त्रिस्तरिय निर्णय गर्दै सोमबार हटाएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई गत जेठ १० मा प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी दिएका थिए। स्वास्थ्य मन्त्रालयमा रहँदा कोरोना प्रवक्ताको रूपमा उनले निकै चर्चा बटुलेका थिए। सुरुमा नरुचाइए पनि डा. गौतमले पछिल्लो समय सबैको मन जितेका थिए। तर, मन्त्रालयबाट वीर गएपछिका उनका हरेक जसो कदम निकै विवादित बने।

वीरलाई कोरोना डेडिकेटेड अस्पताल बनाउने भन्दै धावा दिँदै हिडेका उनले सुरुकै दिनबाट सत्ताको आडमा कर्मचारीहरूलाई धम्काउन थालेको भन्दै वीरका स्वास्थ्यकर्मी निर्न्तर आन्दोलित थिए।

वीर अस्पताल कर्मचारी संघ न्याम्सका अध्यक्ष दीपक मुडभरीले गौतमको बहिरगमनलाई मेडिकल माफियाका नाइकेको बहिगमनको संज्ञा दिएका छन्।

‘स्वायत्त स्वास्थ्य प्रतिष्ठान वीरलाई मन्त्रालय मातहत लगि ओली सरकारले चरम आर्थिक चलखेल गर्ने टुनामुना बुनेको थियो। तर, वर्तमान सरकारकले ओली सरकारको उक्त योजनालाई विफल पारिदिएको छ’, मुडभरीले भने। उनले गौतमले वीरमा आइसकेपछि कर्मचारीलाई धम्काउने र आफू निकट व्यक्तिलाई ठेक्का दिने बाहेक कुनै राम्रो काम नगरेको टिप्पणी गरे।

वीर अस्पतालको भेन्टिलेटर खरिदको ठेक्का हात पार्ने विवादास्पद कम्पनी म्याक्सिम ईन्कर्पोरेशन ट्रेडर्सका मालिकसँग गौतमको साझेदारी पाइएको थियो। गौतम र म्याक्सिमका मालिक सुन्दर भुषालबीच विभिन्न कम्पनिमा साझेदारी देखिएको थियो।

डा. गौतमले मापदण्ड नै नपुगेको म्याक्सलाई १२ करोड ४३ लाख रुपैयाँमा भेन्टिलेटर खरिदको ठेक्का दिएका थिएर। गत असार ११ गते वीरले १५ करोड बराबरको ठेक्का आह्वान गरेको थियो। भेन्टिलेटर, एक्सरे मेसिन, युएसजी मेसिनलगायको सामग्री खरिदको ठेक्का प्रकाशन गरिएको थियो।

गौतम उपकरण खरिदमा मात्र नभएर कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेकोलगायतका विषयमासमेत विवादित बनेका थिए।

न्याम्स अध्यक्ष मुडभरी प्रधानमन्त्री देउवाले आफ्नो पहिलो प्राथमिकता खोप, खोप, खोप रहेको भन्दै गरेको वाचाको कार्यान्वयनको यो पहिलो खुड्किलो भएको बताउँछन्। ‘अघिल्लो सरकारले पालेर राखेका मेडिकल माफियाहरूलाई संरक्षण गरेर आफ्नो लक्ष्य पुरा हुने नदेखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँलाई हटाउनु भएको हो,’ उनले भने। उनले गौतमलाई सामान्य कर्मचारी सरह सरकारले साविककै प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीमा सरुवा गरेर वीरको व्यवस्थाप्रति देउवा सरकारले न्याय गरेको बताए।

सेवासुविधा माग गर्दै आन्दोलित बनेका वीरका स्वास्थ्यकर्मीमाथि आइतबार हातपात भएको थियो। मागका विषयमा स्वास्थ्यकर्मी र गौतमबीच वार्ता भइरहेकै बेला हातपात भएको थियो।

८ महिनादेखि कोभिड जोखिम भत्ता तथा सेवा सुविधा नपाएको भन्दै वीरका कर्मचारी आन्दोलित बनेका थिए। वार्ताका क्रममा स्वास्थ्यकर्मी र डा. गौतमबीच भनाभन भएको थियो। वार्ताका क्रममा गौतमले आक्रोसित बनेर प्रहरी बोलाएर कर्मचारीलाई कुटपिट गर्न लगाएको स्वास्थ्यकर्मीहरूले आरोप लगाएका थिए।

अस्पतालका कर्मचारी टीका पनेरुका अनुसार विभिन्न सेवा सुविधा नपाएको विषयमा वार्तामा भइरहेको समयमा चर्काचर्की भएको र डा. गौतमले प्रहरी बोलाएर आफूहरूमाथि हातपात गर्न लगाएको आरोप लगाए।

झडपको क्रममा गंगादेवी दंगाल, गोमा सुवेदी, अस्मिता थपलिया र निर्मला महत्तो घाइते भएका थिए। डा. गौतमको एकपछि अर्को कदम विवादित बन्दै गएपछि सरकारले बाध्य भएर हटाएको स्रोतको दाबी छ।

उनको ठाउँमा डाक्टर रुद्र मरासिनीलाई नियुक्त गरिएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै ट्रमा सेन्टरका अर्थोपेडिक डाक्टर मरासिनीलाई कोभीड युनिफाइड अस्पताल प्रमुखमा नियुक्त गरेको हो।

नाम नबताउने सर्तमा वीर अस्पतालका एक डाक्टर गौतम आएदेखि नै छुद्रहरू खोज्न थालेको बताउँछन् । उनका अनुसार गौतमले ठेक्कापट्टा बाहेक केहि गरेनन् ।

यस्तै डा. गौतमले भने आफूलाई हटाइएको प्रति असन्तुष्टि जनाएका छन्। उनले आफूले राम्रा काम गर्न खोज्दा-खोज्दै सरकारले आफूमाथि अन्याय गरेको गुनासो गरे । उनले वीरलाई धरासायी बनाएर कमिसन र अनियमितताको अड्डा बनाउन सरकार लागिपरेको आरोप समेत लगाए ।

‘मैले सानो समयमा कोरोना विशेष अस्पतालको उद्घाटन गराए। अस्पतालमा अक्सिजन ट्याङ्क जनाडान भयो। कोरोना संक्रमितलाई रिफर गरेर कमिसन खाने बाटो बन्द भएको थियो। सरकारको यो निर्णयले मलाई अचम्मित तुल्याएको छ’, उनले भने। उनले फेरी वीरलाई धरासायी बनाएर कमिसन र अनियमितताको अड्डा बनाउने खेल सुरु भएको आरोप लगाए।

Leave a Reply

Your email address will not be published.