काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छन् ।
बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपभोग गर्न दिने गरी तयारी अगाडी बढाएको बताएकी हुन् ।
विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘गरिबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरुलाई केही राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत दिने गरेर एउटा तयारी मैले गरिरहेको छु । करिब करिब हामी त्यसको निष्कर्षमा पुग्दैछौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यले त्यसको तयारी गरेको छु ।’
ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भुमिमा सिँचाई पुर्याउनका निम्ति पनि आफू क्रियाशिल रहने बताइन् । सिँचाईको निःशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनले बताइन् ।