बीबीसी । अन्य कतिपय देशमा जस्तै नेपालमा पनि आमाको दूध भण्डारण गर्न मिल्ने ‘मिल्क ब्याङ्क’ स्थापनाका लागि “प्रक्रिया अघि बढाइएको” नेपालको सबैभन्दा ठूलो प्रसूति अस्पतालका अधिकारीहरूले बताएका छन्।
उनीहरूका भनाइमा त्यसका लागि काठमाण्डूको थापाथलीस्थित परोपकार प्रसूति गृहले “स्थान छुट्ट्याइसकेको” छ भने “आवश्यक उपकरण र सामग्री व्यवस्थापन” गरिँदै छ।
सुरुमा प्रसूति गृहमै जन्मिएका तर आमाको दूध नआएर वा अन्य कारणले आमाको दूध पाउन नसक्ने शिशुलाई दूध उपलब्ध गराउने उद्देश्यले “मिल्क ब्याङ्क” स्थापना गर्न लागिएको उनीहरूको भनाइ छ।
आमाको दूध पर्याप्त भण्डारण हुन थालेमा त्यसपछि अन्य अस्पताल र उपत्यकाबाहिर पनि सेवा दिने लक्ष्य राखिएको ती अधिकारीहरूले बताए।
कुन चरणमा छ मिल्क ब्याङ्क स्थापनाको योजना?
प्रसूति गृहकी निर्देशक सङ्गीता कौशल मिश्रका अनुसार अबको तीन महिनाभित्र त्यहाँ मिल्क ब्याङ्क स्थापना गरिसक्ने लक्ष्य राखिएको छ।
उनका अनुसार प्रसूति गृहले त्यसका लागि स्थान छनोट गरिसकेको छ भने आवश्यक सामग्री ल्याउने प्रक्रिया पनि सुरु भएको छ।
उनले बीबीसीसँग भनिन्, “सकेसम्म हामी तीन महिनाअघि नै सञ्चालनमा ल्याउने कोसिसमा छौँ। तीन महिनाभन्दा उता त जाँदैन।”
उनका अनुसार ‘मिल्क ब्याङ्क’ स्थापना गरेपछि दाताहरूबाट दूध सङ्कलन गरिनेछ।
प्रसूति गृहमा दैनिक ६० देखि ७० जना सुत्केरी हुने र जन्मिएका शिशुमध्ये ४० प्रतिशत जतिलाई दूधको आवश्यकता पर्ने उनले बताइन्।
प्रसूति गृहले दुई हजार लिटर क्षमताको मिल्क ब्याङ्क स्थापनाको कार्य अघि बढाएको मिश्रले जानकारी दिइन्।
तर दाताहरूबाट दूध धेरै आएमा त्यसको क्षमता विस्तार गर्दै लाने योजना रहेको उनले सुनाइन्।
मिल्क ब्याङ्कको आवश्यकता किन?
प्रसूति गृहकी प्रमुख बालरोग विशेषज्ञ डा. कल्पना सुवेदी विभिन्न कारणले जन्मिने बित्तिकैका बच्चाहरूलाई दूध उपलब्ध नहुने अवस्थालाई दृष्टिगत गरेर मिल्क ब्याङ्क स्थापनाको अवधारण अघि बढाइएको हो।
उनी भन्छिन्, “बच्चाका लागि आमाको दूध नै सबैभन्दा उत्तम हो। कतिको आमाको दूध नै आउँदैन। जोखिम अवस्थामा जन्मिएर नवजात सघन उपचार केन्द्र (सीसीयू) मा राख्नुपर्ने बच्चालाई पनि दूधको आवश्यकता पर्छ।”
अधिकारीहरूका अनुसार प्रसूति गृहमा वर्षमा २२ हजारभन्दा बढी जन्म हुन्छ।
त्यसमध्ये १० प्रतिशत शिशुलाई सीसीयूमा राख्नुपर्ने अवस्था आउँछ।
त्यस्तै कतिपय महिलाको दूध कम आउने हुँदा बच्चाको एक/दुई दिनको हुँदा पुग्ने दूधले त्यसपछि बिस्तारै नपुग्ने हुनसक्ने उनी बताउँछिन्।
यस्ता समस्या पर्दा समेत नवजात शिशुले आमाकै दूध पाऊन् भनेर प्रसूति गृहको यो अवधारण अघि बढेको हो।
आमाको दूध उपलब्ध नहुने अवस्थामा अहिले बट्टाको दूध खुवाउने गरिएको छ।
“त्यो आमाको दूधजस्तै राम्रो नभए पनि हामीले दिनैपर्ने हुन्छ। मिल्क ब्याङ्क भयो भने त्यस्तो अवस्था आउँदैन,” उनी भन्छिन्।
मिल्क ब्याङ्कमा दूध कसरी राखिन्छ?
प्रसूति गृहले त्यहाँ शिशु जन्माएका र धेरै दूध आउने महिलाहरूलाई दूध दानका लागि परामर्श दिने योजना बनाएको सुवेदीले बताइन्।
कतिपय महिलाको दूध धेरै आएर त्यत्तिकै दुहेर फाल्नुपर्ने अवस्था पनि आउने आउने भएकाले त्यस्ता महिलाले दूध दान गर्ने अपेक्षा त्यहाँका अधिकारीहरूको छ।
“त्यसरी प्राप्त भएको दूधलाई ‘पास्चराइजेशन’ गरेर तीनदेखि छ महिनासम्म राख्न सकिन्छ,” सुवेदीले भनिन्।
उनका अनुसार त्यसमा आमाको दूधमा हुने सबै तत्त्व रहने भएकाले त्यो बट्टाको दूधको तुलनामा पोसिलो हुन्छ।
चुनौती के छन्?
मिल्क ब्याङ्कको अवधारणमा र योजना एकदमै राम्रो भएको र नेपालमा आवश्यक पनि रहेको हुँदाहुँदै त्यसको सञ्चालनमा निकै चुनौती रहेको कतिपय विज्ञको भनाइ छ।
त्यस्तैमध्येका एक नेपाल नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष वरिष्ठ बालरोग विशेषज्ञ डा. गणेशकुमार राईले मुख्यत: तीनखाले चुनौती देखेका छन्।
उनी भन्छन्, “अहिले कैयौँमा नवजात शिशुलाई पनि दूध नखुवाउने चलन बढेको अध्ययनहरूले देखाएका छन्। त्यसमा वास्तवमै विभिन्न कारणहरू छन् तर यो बच्चाको स्वास्थ्यका लागि चिन्ताको विषय हो। यस्तो अवस्थामा मिल्क ब्याङ्कको अवधारणा एकदमै राम्रो र आवश्यक हो।”
“तर दाताको समस्या हुन्छ कि भन्ने हो।”
उनी त्यसको एउटा कारणका रूपमा नेपाली समाजमा कैयौँ व्यक्तिहरूले आफ्नो बच्चालाई अर्को व्यक्तिको दूध खुवाउनु हुन्न भन्ने मान्यता राख्नु रहेको बताउँछन्।
“हामीकहाँ कि त आमाको कि नजिकको मानिसको मात्र दूध खुवाउनु पर्छ भन्ने मान्यता व्याप्त छ,” उनी भन्छन्।
त्यस्तै आफ्नो दूध अरूको बच्चालाई खुवाउन दिनुहुन्न भन्नेहरू पनि रहेकाले दूध सङ्कलन असहज हुन सक्ने उनको तर्क छ।
राईले देखेको अर्को चुनौती चाहिँ दूध दान गर्ने आमाको स्वास्थ्य कस्तो छ भन्ने कुरालाई कसरी निर्क्योल गरिन्छ भन्ने पनि हो।
उनी यदि अस्वस्थ आमाको दूध मिल्क ब्याङ्कमा पुगेमा त्यसले धेरै शिशुलाई असर पार्ने बताउँछन्।
त्यस्तै मिल्क ब्याङ्कमा दूध भण्डारण गर्दा त्यो दूषित हुन सक्ने सम्भावनालाई पनि नकार्न नसकिने उनको तर्क छ।
यी सबै कुरालाई व्यवस्थित गरेर मात्र मिल्क ब्याङ्क सुरु गर्नुपर्ने उनको सुझाव छ।

प्रसूति गृह के भन्छ?
निर्देशक मिश्रले महिलाहरूलाई परामर्श दिएपछि दान आउने आफूले अपेक्षा गरेको बताइन्।
उनले महिला स्वस्थ्य छन् कि छैनन् भन्ने पहिले परीक्षण गरिने जानकारी दिइन्।
त्यस्तै दूधमा कुनै पनि सङ्क्रमण नहोस् भन्नेगरी व्यवस्था मिलाइएको र महिलाहरूबाट लिइएको दूधको परीक्षण गर्ने प्रयोगशाला पनि स्थापना गर्न लागिएको उनको भनाइ छ।