केन्द्रीय कमिटी बैठकमा माधव नेपालले के-के भने ?

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको एकताको सन्दर्भमा केही सहमति भएको र केही विषयमा वार्ता जारी रहेको बताएका छन्। बिहीबारदेखि सुरु आफू पक्षको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले आफूहरुको चाहना एकता रहेको बताएका हुन्।

‘एकताको प्रक्रिया र वार्ता अगाडि बढिरहेको छ। केही सहमति भएका छन्, केही विषयमा अझै वार्ता जारी छ। यो विषयमा हामीले स्थायी कमिटीमा निरन्तर छलफल गरिरहेका छौं। एकता हाम्रो इच्छा हो। चाहना हो। अहिलेसम्म वार्ताबाट आएका सहमतिहरु छँदैछन्, हामी एकता र सहमतिका लागि वार्तामा सामेल छौं। प्रयासरत छौं’, नेता नेपाललको भनाइ उद्धृत गर्दै रघुजी पन्तले भने।

नेता नेपालले महाकालीमा तुइनबाट खसेर एक नेपाली युवा बेपत्ता भएको घटनाको यथार्थ जानकारी बाहिर ल्याउन पनि माग गरेका छन्।

सरकारले छिटोभन्दा छिटो कोरोना विरुद्धको खोपको व्यवस्था गरेर सबै नेपाली जनतालाई यथाशीघ्र खोप दिने काम सम्पन्न गर्नुपर्ने नेता नेपालको धारणा थियो। उनले बाढी र पहिरोबाट पीडित नेपाली जनतालाई गाँस बासको व्यवस्था गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै सरकारले सरकारले तदारुकता देखाउनुपर्ने बताए।

बैठकमा विघटित कार्यदलमा नेपाल पक्षको नेतृत्व गरेका भीम रावलले पनि सम्बोधन गरेका थिए। उनले ओली पक्षले सुरु गरेको पार्टी सदस्यताको नवीकरणको प्रयास रोक्न भनेको र ओली पक्षबाट सकारात्मक जवाफ पाएको ब्रिफिङ गरेका थिए।

बैठकमा केही केन्द्रीय सदस्यहरु विजय पौडेल, दिनेश राई, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, सावित्रा भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, अरुण नेपाल, निरा जैरु, चुडमणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, भानुभक्त जोशी लगायतले आ-आफ्नो विचार राखेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *