घरको डिजाइन : यी हुन् नेपालीले रुचाउने प्रमुख ३ शैली

काठमाडाैं । तिब्र शहरीकरणसँगै मुलुकभर अहिले दैनिक हजारौं घर बनिरहेका हुन्छन् । शहरमा मात्र होइन कि गाउँमा पनि घरको शैली फेरिन थालेको छ । उता गाउँमा पुरानो मौलिक घरहरु भत्काएर मोडर्न स्टायलका घर ठडिदैछन् । यता शहरमा नियोक्लासिकल र ट्रेडिसनल (मौलिक) शैलीका घरमा मान्छेको आकर्षण देखिन थालेको छ ।

जग्गाको भाउ आकासिँदै गएपछि शहरमा तीनदेखि चार आना जग्गामा घर बनाउनुपर्ने बाध्यता आइलागेको छ । सानो प्लटमा गाडी पार्किङदेखि आफ्ना आवश्यकता समेट्नु पर्ने भएकोले घरको डिजाइनमा पनि विशेष ध्यान दिइन थालेको केएसएम सर्भिसेजका सञ्‍चालक नृपेश तण्डुकार बताउँछन् ।

उपभोक्ताले घरको इन्टरेरियरदेखि बाहिरी डिजाइनमा पनि उत्तिकै ध्यान दिन थालेका छन् । टोलमा आफ्नो घर अलिक फरक हुनुपर्ने उपभोक्ताको सोँच छ ।

पहिला आर्किटेकले जस्तो नक्सा डिजाइन तयार पारिदियो उपभोक्ताले त्यसैमा चित्त बुझाउँथे । तर, अहिले उपभोक्ताको च्वाइसेसहरु बढ्दै गइरहेको केएसम सर्भिसेजका आर्किटेक इञ्‍जिनियर मनोज कर्ण बताउँछन् ।

घरको स्ट्रक्चर डिजाइन, छानो, झ्यालढोका, बैठक कोठा, बेडरुम, किचन, ट्वाइलेट, बाथरुम, बार्दली, लाइटिङ, गार्डेनिङ, रंगरोगन लगायतमा विशेष ध्यान दिन थालेको देखिन्छ । उपभोक्ताले घरको आकर्षक डिजाइनका लागि अनुभवी आर्किटेक इञ्‍जिनियर खोज्‍न थालेका छन् ।

हामी तपाईंहरुलाई शहरमा चलेका केही शैलीका बारेमा जानकारी गराउन गइरहेका छौं जसले तपाईंलाई घरको डिजाइनमा सघाउन सक्छ ।

आधुनिक बक्स शैली

तपाई शहरका नयाँ बस्तीतिर पस्‍नुभयो भने चिटिक्क परेका घरहरु देख्नुहुन्छ । आधुनिक शैलीका घरहरुले बस्ती नै आधुनिक देखिएको हुन्छ । पछिल्लो समय शहरी क्षेत्रमा सबैभन्दा बढी प्रचलित शैली हो आधुनिक बक्स डिजाइन ।

सिम्पल तर आकर्षक देखिने हुनाले पनि धेरैले आधुनिक शैली रोज्‍ने गरेको कर्णको भनाई छ । आधुनिक बक्स शैलीका घर बनाउन लागत पनि कम पर्छ ।

‘अहिले धेरै क्लाइन्टले मोडर्न बक्स डिजाइन खोज्छन्’ उनी भन्छन्, ‘आधुनिक शैलीका पनि डिजाइन थरिथरिका हुन्छन्, क्लाइन्टको आवश्यकता अनुसार हामीले घरको डिजाइन तयार पारिदिन्छौं ।’

आधुनिक घरमा आधुनिक मेट्रियल्स प्रयोग गरिन्छ । काठको ठाउँमा आल्मुनियम, युपिभिसी, पीभीसी प्रयोग हुन थालेको छ । ढुंगा र इँटाको सट्टा एएसी ब्लकको प्रयोग बढ्न थालेको छ ।

भुइँमा लेमिनेटेड पार्केट तथा भिनायलको प्रयोग हुन्छ । मोडुलर किचन आधुनिक शैलीको प्रयाय बनिसक्यो । अहिले नेपालमा काठको अत्याधिक महंगो भइसक्यो, काठको सट्टामा आधुनिक प्रविधिहरु प्रयोग गर्दा खर्च पनि निकै कम हुने ठेकेदार कम्पनीहरु बताउँछन् ।

खासगरी कन्टेमप्रोरी मोडर्न बिल्डिङमा आकर्षण देखिएको कर्णको अनुभव छ । अझ शहरमा निर्माण गरिएका अधिकांश हाउजिङ परियोजनाका घरहरु आधुनिक शैलीमा बनाइएका हुन्छन् ।

अहिले आधुनिक शैलीका घरहरुमा क्लासिकल र मौलिक आर्किटेकको फ्युजन गर्ने चलन पनि बढ्दै गइरहेको छ । नियोक्लासिकल र आधुनिक शैलीको फ्युजन गरेर हाउजिङका घर निर्माण हुन थालेका छन् ।

नियोक्लासिकल शैली

नेपालमा युरोपेली शैली भित्रिएको राणकालिन समयमै हो । नेपालका अधिकांश दरबारहरु नियोक्लासिकल शैलीका हुन् । बेलायती रानी भिक्टोरियाको समयमा बनेका घरहरुबाट

नियोक्लासिकल शैली सुरुवात भएको मानिन्छ । १८औं र १९औं शताब्दीमा युरोपमा जन्मिएको यस्तो डिजाइनका दरबारहरु काठमाडौंमा धेरै छन् ।

पछिल्लो समय यही डिजाइनलाई व्यक्तिगत घरमा पनि प्रयोग गर्न थालिएको छ । इतिहास बोकेका राणाकालिन दरबारहरु भूकम्प लगायत विविध कारणले भत्किएर हराउन थालेको बेलामा मान्छेको मोह

नियोक्लासिकल शैलीमा गइरहेको छ । अहिले धेरैले निजी आवासका लागि नियोक्लासिकल डिजाइन खोज्‍न थालेको केएसएम सर्भिसेजका आर्किटेक इञ्‍जिनियर कर्णको अनुभव छ ।

नियोक्लासिल शैलीको घर बनाउँदा महंगो पर्छ । आधुनिक बक्स शैलीको घरको तुलनामा कम्तिमा ५० प्रतिशत बढी खर्च लाग्‍ने कर्ण बताउँछन् । त्यसमाथि नियोक्लासिकल घर बनाउन जग्गा पनि अलि ठूलो चाहिन्छ ।

अलिकति खुल्ला ठाउँ चाहिन्छ, घरको अगाडि बँगैचा बनाउन सकेमा घरको सौन्दर्य बढ्छ । जस्तोसुकै जग्गामा क्लासिलक घर बन्दैन, घडेरी बर्गाकार मिलेको हुनुपर्छ ।

तीन, साढे तीन वा चार आना जग्गामा नियोक्लासिल घर बनाउँदा त्यति खुल्दैन । यदि बर्गाकार जग्गा भएको खण्डमा चार आना जग्गामा पनि नियोक्लासिकल शैलीको घर बनाउन सकिने उनको भनाई छ ।

पछिल्लो समय नियोक्लासिकल शैलीको घर बनाउने उपभोक्ताको संख्या बढ्दै गइरहेको आर्किटेक इञ्‍जिनियरहरु बताउँछन् । अलि खर्च गर्न सक्ने बर्गले दरबारको शैलीमा घर बनाउन खोज्छन् ।

त्यसो त पछिल्लो समय मान्छे पुरानो सभ्यतातिर आकर्षित हुन थालेका छन् । घर, अफिस, होटल, रेष्टुराँ, पार्टी प्यालेस जताततै मौलिक तथा नियोक्लासिकल शैली अपनाउन थालिएको छ ।

नियोक्लासिक शैली सदाबहार मानिन्छ । यो घर धनाढ्य बर्गमाझ बढी ट्रेन्डिङ पनि भएको थियो । मुख्यतया ग्रिक र रोमनको सभ्यता हो नियोक्लासिल शैली ।

सत्रौं शताब्दिमा ‘हर्कुलानियम’ र ‘पोम्पीई’ जस्ता शहर विभिन्‍न कारण र उद्देश्यले विध्वंश भएका थिए । पछि तिनको भग्‍नावशेष उत्खनन भयो । त्यसपछिको उत्साहको नतिजाको रुपमा नियोक्लासिकल शैलीलाई लिने गरिन्छ ।

त्यसबेलाका मानिसहरु रोम र ग्रीसको प्राचीन सभ्यतामा मोहित भए । ती प्राचीन शहरहरुमा प्रयोग भइसकेका वा प्रचलनमा आएका शैलीहरुलाई मानिसहरुले नमुनाको रुपमा प्रयोग गर्न सुरु गरे । यसरी यसको पुनरुत्थान भएको मानिन्छ ।

पूर्वीय दर्शनको महाभारत तथा रामायणकालिन पौराणिक सभ्यतासँग पनि नियो–क्लासिक शैली जोडिन पुगेको छ ।

नियोक्लासिक शैलीका भवन अलि हेभी पनि हुन्छन् । त्यसैले पनि मूल्य निकै चर्को पर्न जान्छ । ‘नियोक्लासिक भवनमा कोर्नेक्स नभई हुँदैन्, बजारमा कोर्नेक्सको मूल्य उच्च छ’ कर्ण भन्छन्, ‘त्यसैले पनि यो डिजाइन अलि महंगो पर्ने हो ।’

धेरैले चाहेर पनि खर्च बढी लाग्ने हुँदा नियोक्लासिक घर बनाउन सक्दैनन् । तर, उनीहरुले मोडर्न घर बनाए पनि कहीँकतै क्लासिकल टच दिन थालेको देखिन्छ ।

परम्परागत मौलिक शैली 

नेपालमा परम्परागत मौलिक शैलीको पनि आकर्षण बढ्दै छ । पछिल्लो समय परम्परागत मौलिक बास्तुकलामा आधारित रहेर घरको डिजाइन खोज्‍नेहरु धेरै हुन थालेको कर्ण बताउँछन् ।

यो शैलीको घर बनाउन निकै खर्चिलो हुन्छ । हातले कुँदिएका बास्तुकलाको मूल्य निकै चर्को हुन्छ । यसै पनि नेपालमा काठको मूल्य अचाक्ली बढिसकेको छ ।

त्यसैले सबैको पहुँचमा परम्परागत शैलीको डिजाइन नहुन सक्छ । तर, राम्रो कमाई धमाई हुनेहरुले आफ्नो घरमा पुरानो बास्तुकला टच गर्न खोज्छन् ।

काठमाडौं उपत्यकाको हकमा नेवारी आर्किटेक्चरको राम्रो माग रहेको कर्ण सुनाउँछन् । आधुनिक आर्किटेक्चरमा परम्परागत आर्किटेक्चर फ्युजन गर्ने चलन पनि बढ्दो छ ।

‘मौलिक र आधुनिक आर्किटेक्चरको फ्युजन गरिएका घर खोज्‍नेहरु बढ्दैछन्’ उनी भन्छन्, ‘आफ्नो आर्थिक हैसियत अनुसार घरमा पुरानो बास्तुकलाको प्रयोग गर्न सकिन्छ ।’

खासगरी यो शैलीका झ्याल, ढोका, सजावटका सामाग्रीहरु विशेष हुन्छन् । काठमा कुँदेर बुट्टाहरु निकालिएका मौलिक शैलीको कला चित्ताकर्षक हुने गर्छ ।

नयाँ पुस्तामा विस्तारै मौलिक कला–संस्कृति हराउँदै गइरहेको बेलामा पछिल्लो समय घरमा मौलिक बास्तुकला र शैली अपाउन थालिएको कन्सल्टिङ कम्पनीहरु बताउँछन् ।

मौलिक शैली समुदाय अनुसार फरक फरक हुने गर्छ । नेवारको आफ्नै शैली छ भने गुरुङ, मगर, थारु, ब्राहमणको आफ्नै शैली छ । नेपालमा तिब्बतीयन शैली पनि उत्तिकै प्रयोगमा छ ।

काठमाडौंको बौद्ध, जोरपाटी, कपनतिरका घरमा धेरै तिब्बतीयन कला देख्‍न सकिन्छ । घुम्दै जाँदा कुन समुदायमा पुगियो भन्‍ने कुरा घरको डिजाइन हेरेरै पत्ता लाग्छ ।

यो शैलीलाई सौखिन र सम्पदाप्रति रुची राख्‍ने व्यक्तिहरुले घरमा धेरै प्रयोग गर्ने वा रुचाएको देख्‍न सकिन्छ । त्यसो त पछिल्लो समय काठमाडौंको कलासंस्कृति हराउँदै गइरहेको देखिन्छ ।

पुराना घरहरु भत्काएर आधुनिक घर बनाउन थालिएको छ । तैपनि परम्परागत कलाप्रति रुची राख्‍ने र सम्पदा संरक्षणका अभियान्ताहरुले मौलिक कलाकृतिलाई जोगाइराख्‍न घरमा प्रयोग गर्ने गरेको देखिन्छ ।

मल्लकालिन शैलीलाई पनि विस्तारै अपनाउन थालिएको छ । तर, यस्तो डिजाइनका घरहरु बनाउन धेरै ठूलो रकम लाग्‍ने हुँदा मान्छेले चाहेर पनि परम्परागत शैली अनुशरण गर्न सक्दैनन ।

यस्तै बुद्धिष्‍ट आर्किटेक्चर पनि अत्याधिक रुचाउन थालिएको कर्णको भनाई छ । नेपाल हाेम्सबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *