नेकपा एमालेले पार्टीकाे लोगो परिवर्तन गर्ने, कस्ताे छ प्रस्तावित नयाँ लाेगाे ?

काठमाडाैं । नेकपा (एमाले) आफ्नो लोगो परिवर्तन गर्ने गरी विधान संशोधन प्रस्ताव तयार गरेको छ। सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले अहिलेको लोगोलाई परिवर्तन गर्ने गरी विधान संशोधन प्रस्ताव तयार गरेको हो।

एमालेको अहिलेको लोगोमा सूर्य चिह्नभित्र हँसिया हथौंडा र अंग्रेजीमा ‘सीपीएन यूएमएल’ उल्लेख छ। सूर्य चिह्नभित्र हँसिया हथौंडा राखेर समयक्रमसँगै लोगोलाई आकर्षित र कलात्मक बनाउनका लागि परिमार्जन गर्ने प्रस्ताव गरिएको एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए।

त्यस्तै, एमालेले आफ्ना कार्यक्रममा राष्ट्रिय गान र राष्ट्रिय झण्डा अनिवार्य राख्ने गरी विधान संशोधनका लागि प्रस्ताव गरेको छ।

गणतन्त्र स्थापनापछि एमालेका कार्यक्रममा राष्ट्रिय गान बजाउने र झण्डा राख्ने अभ्यास गरिँदै आएको भए पनि विधानमा व्यवस्था थिएन।

यस्तै, एमालेको विधान संशोधन मस्यौदा कार्यदलले अब पार्टीमा अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी केन्द्रीय सदस्यले निर्वाचित गर्ने व्यवस्था गरेको छ ।

पार्टीका उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठिन कार्यदलले यो नयाँ व्यवस्था प्रस्ताव गरेको हो । उक्त प्रस्ताव आजै बसेको एमाले स्थायी कमिटी बैठकले अनुमोदन गरिसकेको छ भने त्यसपछि शुरु भएको केन्द्रीय कमिटी बैठकमा पेश भएको छ ।

त्यसैगरी एमालेको संशोधित विधानमा प्रस्तावमा २२५ जनाको केन्द्रीय कमिटी, उपाध्यक्ष घट्ने, सचिव बढ्ने व्यवस्था पनि गरिएको छ । संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइएको छ भने पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।

यसैगरी पार्टीमा उपाध्यक्षको सङ्ख्या घटाउने र सचिवको सङ्ख्या बढाउने प्रस्ताव पारित विधानमा गरिएको छ । यस्तै विधानमा प्रदेश कमिटीलाई कार्यकारिणी बनाइने समेत उल्लेख गरिएको छ ।

स्थायी किमिटीबाट पारित प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेपछि लागू हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *