‘असाधारण जनमतका साथ फेरि प्रधानमन्त्री हुन्छु’

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू फेरि असाधारण जनमतका साथ प्रधानमन्त्री हुने दाबी गरेका छन्।

मंगलबार प्रतिनिधि सभामा बोल्दै ओलीले आफूलाई असंवैधानिक गठबन्धनले हटाएको आरोप लगाएका छन्। जनताले देश बनाउने जिम्मेवारी दिएको बताउँदै उनले भने, “असंवैधानिक गठबन्धनबाट जिम्मेवारी खोसिएको छ।”

आफूलाई जाली मुद्दाबाट हटाएको उनको आरोप थियो। ओलीले भने, “म जाली मुद्दा जितेर प्रधानमन्त्री भएको थिइन्। म परमादेशबाट होइन, जनादेशबाट प्रधानमन्त्री भएको हुँ।”

उनले यसअघि पनि आफूलाई गठबन्धनले हटाएको जिकिर गरे। त्यतिबेला पनि आफूले ‘झ्यालाबाट होइन, मूल ढोकाबाट प्रवेश गर्छु’ भनेको बताए। ओलीले भने, “फेरि भन्छु, असाधारण जनमतका साथ मुल ढोकाबाट प्रवेश गर्छु।”

उनले आफू देशको सेवा गर्नका लागि जन्मिएको पनि दाबी गरे। “म प्रधानमन्त्री हुन जन्मिएको होइन,” ओलीले भने, “म यो देशको र जनताको सेवा गर्न जन्मिएको जस्तो ठान्छु।”

अहिलेको सरकारले काम गर्न नसकेको ओलीको भनाइ थियो। एक महीना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेकोमा उनले आलोचना गरे। सरकारले एक महीना खेर फालेको उनको भनाइ थियो।

अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूमि फिर्ता ल्याउन डराएको बताएका छन्। ओलीले सरकारले सार्वजनिक गरेको न्यूनतम् नीति तथा कार्यक्रममा नल्याएर खुट्टो कमाएको बताए।

लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या समाधान गर्छु भनेर बर्तमान सरकारले भन्नु खुट्टा कमाउनु मात्र भएको उनको जिकिर छ।

‘लिम्पियाधुरा, कालापानी समस्या? कसरी भयो समस्या? वार्ता गरेर फिर्ता ल्याउँछु किन भन्न सक्नुभएन? त्यो नेपालको पवित्र भूभाग हो। अभिन्न भूभाग हो।

कसरी समस्या हो? हाम्रो भूभाग हामी फिर्ता ल्याउँछौं किन भन्न नसकेको? खुट्टा कमाउने कसले बनायो? अघिल्लो सरकारलाई आरोप लगाएको होइन। बरु त्यो सरकारले त आँटका साथ नक्शा छाप्यो, संविधानको अंग बनायो।

भारतसँग संवाद गर्‍यो। अहिलेको सरकार के गर्दै छ? फिर्ता लिनोस् प्रधानमन्त्रीजी, हाम्रो भूभाग। छाड्ने अधिकार कसैलाई छैन। तपाईंहरुले ल्याउन नसके हामी छौं, डेढ वर्षपछि हामी ल्याउँछौं,’ ओलीले भने।

छिमेकीसँग सीमा समस्या भनिएको छ, कुन कुन छिमेकीसँग सीमामा समस्या हो भन्दै उनले प्रश्न गरे, ‘किन डराएको ? चपाउँदा चपाउँदा जिब्रो पनि रगत आइसक्यो होला ? असमान सन्धि भनेको कुन कुन हो? ठोस तोकेर किन बोल्न नसकेको? को-कोसँग कहाँ कहाँ समस्या छ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *