कडा प्रावधानसहित उपत्यकामा निषेधाज्ञा थपियाे, पर्सीबाट सवारी साधन चलाउन नपाइने

काठमाडाैं । कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गरिएको छ। बिहीबारबाट लागू हुने गरी थपिएको निषेधाज्ञामा राति ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चलाउने नपाइने भएको छ।

मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनाएका छन्। कोरोना संक्रमणदर नघटेकाले निषेधाज्ञा थप्ने निर्णय गरिएको उनको भनाइ छ।

२८ साउनदेखि लागू हुने गरी ८ भदौसम्म निषेधाज्ञा थपिएको हो। यो अवधिमा यातायातका साधन सञ्चालनमा भने केही कडाइ गरिएको छ।

तीन वटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा सम्बन्धी आदेशमा भनिएको छ, “अत्यावश्यक बाहेकका अन्य निजी तथा सार्वजनिक सवारी साधनहरू बेलुकी ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्नेछ।” यसअघि निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा कुनै रोक लगाइएको थिएन।

कोरोना बढ्न थालेपछि काठमाडौंमा उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लागू गरिएको हो। फेरि कोरोना संक्रमण बढ्न थालेपछि निषेधाज्ञामा थप कडाइ गर्न थालिएको हो।

Leave a Reply

Your email address will not be published.