यस्तो छ अर्थमन्त्री शर्माले जारी गरेको श्वेतपत्र, काेराेना (काल)ले मान्छे मर्ने ओलीमाथि दाेष (पूर्णपाठ)

काठमाडाैं । केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा देशको अर्थतन्त्र झन् कमजोर बनेको देखाउँदै अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा मंगलबार श्वेतपत्र प्रस्तुत गरेका छन्।

देशको वर्तमान आर्थिक अवस्थाको जानकारी नाम दिइएको यो श्वेतपत्रमा अर्थतन्त्रका अधिकांश क्षेत्र गहिरो समस्यामा रहेको उल्लेख गरिएको छ।

श्वेतपत्रमा आर्थिक वर्ष २०७६/७७ मा २.१ प्रतिशतले ऋणात्मक रहेको आर्थिक वृद्धिमा आर्थिक वर्ष २०७७/७८ मा पनि उल्लेख्य सुधार हुन नसकेको उल्लेख छ।

सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा आर्थिक वृद्धि कति भयो भन्ने तथ्यांक सार्वजनिक गरिसकेको छैन। तर, केन्द्रीय तथ्यांक विभागका एक अधिकारीका अनुसार आर्थिक वृद्धिदर १ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको छ।

श्वेतपत्रमा सरकारी कोषमा ध्यान नदिई अघिल्लो सरकारले बजेट निर्माण गरिएको उल्लेख छ। २०७४ चैतमा सरकारी कोषमा रु.४८ अर्ब सञ्चित घाटामा रहेकोमा गत आर्थिक वर्षसम्ममा यो बढेर रु. १ खर्ब ४३ अर्ब पुगेको उल्लेख छ।

ओली सरकार वित्तीय उत्तरदायित्वमा चुकेको र वित्तीय अनुशासन कायम नगरिएको श्वेतपत्रमा उल्लेख छ। श्वेतपत्रले सार्वजनिक ऋणको मात्रा बढ्दै गएको र गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल गार्हस्थ उत्पादनको ४०.५ प्रतिशत अर्थात् रु. १७ खर्ब २९ अर्ब पुगेको उल्लेख छ। सार्वजनिक ऋण बढ्दै गए पनि उत्पादनशील क्षेत्रमा प्रयोग नभएको अर्थमन्त्री शर्माले बताए।

श्वेतपत्रमा महामारीका कारण गरिब सबैभन्दा धेरै प्रभावित बनेको र गरिबीको रेखामुनी रहेको जनसंख्या १८.७ प्रतिशतबाट बढेको हुनसक्ने उल्लेख छ। त्यसैगरी पछिल्ला वर्षहरुमा सरकारी आर्थिक नीतिहरु गरिब र सीमान्तकृत समूहमा केन्द्रित हुन नसक्दा आय र सम्पत्ति सीमित समूहमा थुप्रिदै गएको उल्लेख छ। यसले गर्दा असमानता दर झन् चुलिएर गएको श्वेतपत्रमा छ।

उनले श्वेतपत्र जारी गर्दै वर्तमान सरकारको प्राथमिकता खोप मात्रै भएको बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप हो भन्नेमा जोड दिएको तथ्य पेश गर्दै अर्थमन्त्री शर्माले आफूले कार्यभार सम्हालेको दिन नै खोप खरिदका लागि पाँच अर्ब निकासा गरेको उल्लेख गरे।

संविधान प्रदत्त समाजवाद निर्माण गर्दै वर्तमान सरकारलाई जनताप्रति उत्तरदायी बनाउने सरकारको प्रमुख कार्यभार रहेको स्पष्ट पार्दै अर्थमन्त्री शर्माले लोकतान्त्रिक तथा सामाजिक न्यायको मार्गमा आफूहरु निरन्तर लागि पर्ने बताए।

Leave a Reply

Your email address will not be published.