लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता लिनुहोस, नसके डेढ बर्षपछि हामी फिर्ता ल्याउँछौं : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पालामा तुइनहरु हटाएर पुल निर्माण गरेको बताएका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक संसदमा सम्बोधन गर्दै उनले दार्चुला घट्नाको तत्काल छानविन गर्न सरकारलाई आग्रह गरे ।

उनले भने,‘केपी ओलीको समयमा तुइन हटाउँछु भन्थ्यो भनेर हल्ला फिजाइयो । तर म आउनु अघि भारत सरकारले कुनै तुइन र पुल बनाउन दिएको थिएन । मैंले नै कुरा गरेर सहमति बनेपछि तुइन र पुलहरु बनेका छन् । त्यो प्रधानमन्त्री ज्यूलाई थाहा छ ।’

उनले अघिल्लो सरकारले शुरु गरेका कामहरुलाई बाध्य भएर निरन्तरता दिनहुने दाबी गरे । उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या समाधान गर्छु भनेर बर्तमान सरकारले भन्नु खुट्टा कमाउनु मात्र हो भने ।

उनले भने,‘लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या होइन । समाधान गर्नुहोस । समस्या नभन्नुहोस । त्यो हाम्रो भूभाग हो, फिर्ता लिनुहोस’ उनले अघि भने,‘तपाइँहरुले सक्नुभएन भने डेढ बर्षपछि हामी आफैं सरकार आएर फिर्ता लिन्छौं ।’

 ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)तुरुन्त पास गर्न दबाब दिएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसीसी पास गर्न के ले रोक्यो ? भन्दै प्रश्न गरे ।

सोमबार एमालेको केन्द्रीय कमिटी बैठकमा संशोधनसहित एमसीसी पारित गर्नुपर्ने धारणा राखेका ओलीले एमसीसीबारे नेपाली जनताले जान्न चाहेकाले प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए ।

उनले संयुक्त सरकारको साझा कार्यक्रममा विभिन्न अनुहार देखिए पनि काँग्रेसको अनुहार भने नदेखिएको टिप्पणी गरे । ‘साझा कार्यक्रममा साना र मसिना कुरा मात्रै छ, पहिले तपाईंहरुले नै एमसीसी गर्नुभएजस्तो लाग्थ्यो, तर एमसीसी बिर्सनुभयो कि के हो ? खै मैले त यो कार्यक्रममा देखिनँ त कतै’ ओलीको कटाक्ष थियो ।

Leave a Reply

Your email address will not be published.