खोप कार्यक्रम सुस्त बनाएर निर्वाचन नगर्ने सरकारको नियत देखियो : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई सुस्त बनाएर सरकार निर्वाचनबाट भाग्न खोजेको आरोप लगाएका छन् ।

आफ्नो सरकारको पालामा ल्याइएका खोपलाई समेत लगाउन ढिला गरेर खोपको नाममा निर्वाचन रोक्ने र सार्ने षडयन्त्रमा सरकार लागेको ओलीको भनाइ छ ।

आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो सरकारले ल्याएर थुपारिदिएको खोप समेत सरकारले लगाउन ढिलाइ गरिरहेको आरोप लगाएका छन् ।

सरकारले चैतसम्म खोप दिने भनेर फागुनमा हुनुपर्ने स्थानीय निर्वाचन नगर्न खोजेको उनको भनाइ छ । उनले आफ्नो सरकारले नै निःशुल्क खोप दिन शुरू गरेको भन्दै देउवा सरकारले आफूहरुलाई जस नदिएकोमा दुःख व्यक्त गरे ।

‘चैतसम्म खोप भनेको छ । निःशुल्क खोप अहिले देखि,’ ओलीले हास्दै भने, ‘यो मेरो सरकारले गरेको होइन र ? परीक्षण निःशुल्क भनेर झुट कुरा गर्ने ?’

‘खोप त मेरो सरकारले ल्याएर थुपारिदिएको छ । किन चैत सम्म कुर्ने ? खुरुखुरु लगाए भइहाल्यो । चैतसम्म खोप भनेर फागुनको निर्वाचन गर्न नखोजेको हो ? यस्तो असंवैधानिक काम गर्न पाइँदैन,’ ओलीले भने ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुरलाई अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन (एमसीसी) के गर्नुहुन्छ भनेर प्रश्न गरेका छन् ।

बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभामा टेबुल भइसकेको एमसीसीका बारेमा जिज्ञासा राख्दै प्रधानमन्त्री देउवा सरकारलाई यस्तो प्रश्न गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यू, जनता सोध्दैछन्– एमसीसी के हुन्छ ? सभामुख महोदय तपाईं के गर्नुहुन्छ । सरकारसँग सवल मत छ । पास गरेर देखाए भइहाल्यो नि,’ ओलीले भने ।

हालै सरकारले सार्वजनिक गरेको साझा न्यूनतम नीति तथा कार्यक्रममा समेत एमसीसीबारे उल्लेख नगरेको भन्दै उनले खरो टिप्पणी समेत गरेका छन् । ओलीले सरकारको न्यूनतम कार्यक्रममा कुनै नौलो कुरा नसमेटिएको र जनता झुक्याउने कार्यक्रममात्रै रहेको टिप्पणी समेत गरेका छन् ।

सरकारको कार्यक्रममा एमसीसीबारे केही नबोलेको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गर्दै भने, ‘एमसीसीको बारेमा साझा न्यूनतम कार्यक्रममा केही छैन । एमसीसी बिर्सिनुभो कि क्या हो ? के गर्नुहुन्छ एमसीसी तपाइँ ?’

ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या नभई नेपालको अभिन्न र पविज्ञ अङ्ग भएको बताएका छन् ।सरकारको साझा न्यूनतम कार्यक्रममा नेपालको भूभाग लिम्पयाधुरा, लिपुलेक र कालापानीलाई ‘समस्या’का रुपमा राखिएकोप्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष ओलीले ती भूभाग समस्या नभई नेपालको अभिन्न र पवित्र अङ्ग भएको बताएका हुन् ।

आज मंगलबार जारी प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो भूभागलाई ‘समस्या’मा राखेर के छोडिदिन खोजिएको हो भन्दै प्रश्न समेत गरेका छन् ।

‘यो समस्या हो भनेर समाधानका निम्ति छोडिदिने भन्न खोजिएको हो ? होइन भने फिर्ता ल्याउँछु भन्न किन नसकेको ?’ ओलीले प्रश्न गरेका छन् ।

Leave a Reply

Your email address will not be published.