लुम्बिनीमा पनि ढल्याे एमालेको सरकार, काे बन्छ नयाँ मुख्यमन्त्री

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

पोखरेलले प्रदेश प्रमुख अमिक शेरचना समक्ष राजीनामा दिएका हुन् । पोखरेले आफू बिरुद्ध अविश्वासको प्रस्ताव संसदको विशेष अधिवेशनबाट आजै पास हुने देखेपछि पदबाट राजीनामा दिएका हुन् । पोखरेलको राजीनामापछि एमालेको सरकार ढलेको छ ।

राजीनामा दिनुअघि मुख्यमन्त्री निवासमा बुधबार बिहान उनले संसदीय दल र मन्त्रीपरिषदको बैठक बोलाएका थिए ।

पोखरेलले राजीनामा दिएसंगै विपक्षी गठबन्धनबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने भएका छन् ।

संभवत बुधबार साँझसम्ममा प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनकालागि प्रस्ताव आह्वान गर्नेछन् । गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चा छन् ।

कुल ८७ सांसद संख्या मध्ये सत्ता जोगाउने र ढाल्ने कसरतकै कारण कारबाही र राजीनामा प्रकरणले प्रदेशसभा ८० सदस्यीय छ ।

कांग्रेसका १९, माओवादीका सभामुख बाहेक १८, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ जना हुन् । एमालेका ३८ सांसद छन् ।

लुम्बिनीका प्रदेश प्रमुखद्वारा बहुमतको सरकार गठनको लागि आह्वान

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनको लागि आह्वान गरेका छन्।

आज बिहान मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले बहुमतको सरकार गठनको लागि २२ घण्टाको समय दिएका हुन्।

प्रदेश प्रमुखको आह्वान बमोजिम २८ साउन अपराह्न ३ बजेसम्म दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने आधार सहित प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्ने छ। बहुमतको आधार प्रस्तुत गर्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन्।

यसअघि नै विपक्षी गठबन्धनले नेकपा (माओवादी केन्द्र) का नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गरिसकेको छ।

Leave a Reply

Your email address will not be published.