माओवादी सांसदकाे प्रश्न : ‘हनुमान’ र ‘कुलमान’ मात्र देख्ने कस्ता सरकार कुलमान बुढाे भएपछि के गर्छ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले सरकारहरूले कुलमान र हनुमान मात्र देखेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठको शून्य समयमा बोल्दै सांसद महतले पुरानो सरकारले हनुमान र अहिलेको सरकारले कुलमान मात्र देखेको बताएका हुन् ।

उनले भने, ‘अघिल्लो सरकारले हनुमानबाहेक नियुक्ति गरेन अहिलेको सरकारले कुलमान बाहेक देखेन, किन ? मैले कुलमानलाई नराम्रो भनेको होइन । हनुमानले र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खत्तम पारे । कुलमान बूढो भएपछि के गर्छ त सरकारले ? नेपाल एयर लाइन्स छैन ? अरु संस्थान डुबेका छैनन् ?’

उनले कुलमानको आवश्यकता विद्युत प्राधिकरणबाहेक अन्य क्षेत्रमा किन नलगेको भन्दै प्रश्न गरेका छन् । उनले कुलमान बूढो भएपछि यो सरकारले के गर्ने भन्दै प्रश्नसमेत गरेका छन् ।

यस्तै, नेकपा एमालेका सांसद आशा कुमारी विकले तीनवटै तहका जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन गर्न माग गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने आइरहेको भन्दै त्यसबारे छानबिन गर्नुपर्ने माग गरेकी हुन् ।

उनले भनिन्, ‘जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने छ । जनप्रतिनिधि र नेताको नाम नै भ्रष्टाचारी भन्ने टोल-टोलमा सुनिन्छ । देउवा सरकारले हनिमुनको पिरियडमा स्थानीय, प्रदेश र संघका प्रतिनिधिहरुको सम्पत्ति छानबिन गरोस भन्ने माग गर्न चाहन्छु ।’

उता माथिल्लाे सदनमा राष्ट्रियसभा सदस्य कोमल वलीले हालसम्म शिक्षामन्त्री नियुक्त नहुनुले चार लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताएकी छन् । शिक्षामन्त्रीको नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न समेत गरिन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद वलीले भनिन्, ‘भागबन्डा नमिलेर हो कि शिक्षा मन्त्री अझै नियुक्त गर्नुभएको छैन, त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रमा परेको छ ।

चार लाख बढी विद्यार्थीहरुले परीक्षामा बस्न पाएका छैनन् । उनीहरुको पढाइ मात्रै क्लास बढाएर भइरहेको छ, जाँच दिन पाएका छैनन् उनीहरुको भविष्य अन्धकार छ ।’

उनले सबै विद्यार्थीलाई खोप लगाएर वा अन्य वैकल्पिक विधिबाट भए पनि परीक्षा दिने व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

Leave a Reply

Your email address will not be published.