लुम्बिनीमा ६ सदस्यीय मन्त्रिपरिषद्, कस्लाई कुन मन्त्रालयको जिम्मेवारी ?

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरेका हुन् । केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै ४२ सांसदले हस्ताक्षर बुझाएका थिए । नवनियुक्त मुख्यमन्त्री केसीले आज नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

नयाँ सरकारमा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्रीसहित २, कांग्रेस १ र जनता समाजवादी पार्टी (जसपा)बाट तीन मन्त्री बन्ने भएका हुन् । माओवादीका कृष्णध्वज खड्का विनाविभागीय मन्त्री बन्दैछन् । त्यस्तै कांग्रेसका डिल्ली चौधरी ग्रामिण तथा शहर विकास मन्त्री बन्दैछन् ।

याे पनि खबर छ, लुम्बिनीको सरकार हेरफेरका क्रममा सबैभन्दा चर्चामा आएर निर्णायक मानिएकी विमला ओली नयाँ सरकारमा मन्त्री बन्ने भएकी छिन् ।

२०७६ मंसिरमा भएको उपनिर्वाचनमा दाङ क्षेत्र नम्बर ३ (ख) बाट विजयी तत्कालीन नेकपाबाट विजयी ओली एमाले र माओवादी पुनः अस्तित्वमा आएपछि कहिले माओवादी त कहिले एमालेमा रहेको भन्दै पटक–पटक चर्चामा आउने गरेकी छिन् ।

२०७७ फागुन २३ गते नेकपा खारेजीमा परेर एमाले र माओवादी ब्यूँतिएपछि उनी शुरूमा आफू माओवादी केन्द्रमा जाने बताइन् । कांग्रेस र माओवादीले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव हाल्दा उनी निर्णायक थिइन् ।

तर उनैले रातारात आफूलाई परिवर्तन गराएर एमालेको कित्तामा उभ्याइन् । मुख्यमन्त्री पोखरेललाई हटाउने कुरामा निर्णायक खेलाडी बनेकी उनी संसदीय राजनीतिलाई नै प्रश्न उठ्ने गरी यताउता गरिरहिन् ।

कहिले एमाले त कहिले माओवादीतिर लागिरहेकी उनी पछिल्लो पटक साउन १६ गते एउटा विज्ञप्ति जारी गरी आफू एमालेमै रहेको बताइन् । तर, बार्गेनिङका क्रममा एमालेबाट भन्दा फाइदा माओवादीबाट हुने बुझेपछि उनले मुख्यमन्त्री निवासबाटै आफूलाई परिवर्तन गरेर माओवादी कित्तामा पुगिन् ।

शंकर पोखरेल नेतृत्वको सरकार ढाल्न निर्णायक बनेकी उनैलाई नयाँ मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्री बनाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *