काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सरकारले संसदलाई भूमिकाविहीन बनाएर चालु अधिवेशन अन्त्य गर्दा अघिल्लो सरकारका पालामा रोइलो गर्नेहरू मौन रहन बाध्य भएको टिप्पणी गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेकी छिन् ।
संसद अधिवेशन अन्त्य भएपछि नेता पोखरेलले भनेका छन्, ‘हिजो सरकारले संसदलाई बिजनेस दिएन भनेर रोइलो गर्नेहरू अहिलेको सरकारले संसदलाई भूमिकाविहीन बनाएर अन्त्य गरेकोमा मौन रहन बाध्य छन् ।’
उनले अध्यादेशको विरोध गर्नेहरू अध्यादेशकै बाटोमा भएको पनि बताएका छन् । नेता पोखरेलले शीघ्र चुनावको विरोध गर्नेहरू चुनावकै तयारीमा रहेको पनि बताएका छन् ।
‘शीघ्र चुनावको विरोध गर्नेहरू चुनावकै तयारीमा छन्,’ उनले भनेका छन्, ‘ उनीहरू जे गरुन् नेकपा एमाले सामना गर्न तयार छ ।’
संसदको चालु अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकी हुन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिले संसद अन्त्य गरेको पत्र पढेर सुनाए । चालु अधिवेशन आज (सोमबार) राति १२ बजेदेखि अन्त्य भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको हो ।
संसद्को चालु अधिवेशन अन्त्यसँगै दल विभाजनसम्बनधी अध्यादेश ल्याउने सरकारको तयारी रहेको पनि चर्चा छ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले दल विभाजन गर्न लागेको हल्ला चलिरहेको बेला नेपाल समूहलाई सजिलो पार्नेगरि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी भएको बुझिएको छ ।