भीम रावलले गरे आफू पक्ष नेताहरुसँग छुट्टै छलफल

काठमाडौं । एमाले विभाजनको तयारी भइरहेको बेला उपाध्यक्ष भीम रावलले भने आफू पक्षका नेता तथा सांसद्हरुको छुट्टै छलफलमा जुटेका छन्।

रावलले पार्टी विभाजन हुने स्थितिमा के गर्ने, कतातिर लाग्ने भन्ने विषयमा परामर्श गरेको एक नेताले जानकारी दिए।

रावलले मंगलबार बिहान मात्रै सामाजिक सञ्जालमा कविता पोस्ट गर्दै ‘आज हुने काम कुराले पश्चताप भोलि नहोस्’ भनेका थिए। ‘समाजलाई र आफ्नै लागि गलपासो साबित नहोस्’, उनको भनाइ थियो।

रावलले २०७८ भदौ १ गतेको मितिमा लेखेको कवितामा आज हुने काम कुराले भोलि पश्चाताप नहोस् भन्दै पार्टी विभाजन आफ्नै लागि गलापासो हुन सक्ने सन्देश दिएका छन् ।

पार्टी विवादको सुरुवातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रोशित रावल पछिल्लो समय नरम हुँदै आएका थिए। उनी अध्यक्ष ओली र वरिष्ट नेता माधवकुमार नेपालसँग समदूरी थिए। उनी ओलीतिरै खुल्ने आकलन गर्न थालिएको थियो।

रावल एमाले विभाजन हुन नदिन सक्रिय छन् । माधव नेपालले अलग पार्टी खोले आफू त्यसमा नरहने जानकारी समेत नेपाललाई गराइसकेको बताइन्छ । रावल माधव नेपालसहितको एमाले एकताका पक्षमा क्रियाशील छन् । उनले १० बुँदे सहमति नै एमाले एकताको आधार हो भन्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.