यी व्यक्तिले तत्काल लगाउन पाउँदैनन् भेरोसेलको दोस्रो डोज

काठमाडौं । कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजदेखि लगाइँदै छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र यही जेठ ११ गतेसम्म खोप लगाउन लागिएको हो ।

गत चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन लागिएको हो । चैत २५ पछि खोप लगाए पनि संक्रमण भएका र अहिले कोरोनाको लक्षण देखिन थालेका व्यक्तिलाई भेरोसेलको दोस्रो डोज खोप तत्काल नदिइने भएको छ ।

जनस्वास्थ्य विभागले त्यस्ता व्यक्तिहरुका विषयमा अर्को निर्णय हुने जनाएको छ । अहिलेको खोप चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका र त्यसपछि कोरोनाको संक्रमण नभएका व्यक्तिहरुका लागि मात्र हो ।

यसैगरी, परीक्षण गरेर यकिन नभएका तर कोभिड–१९ का लक्षण देखिएका व्यक्तिलाई पनि दोस्रो डोज खोप दिइने छैन । विभागका प्रमुख हरिबहादुर कुँवरले भने, ‘‘माथिल्ला निकायबाट निर्देशनबमोजिम हामी खोप सञ्चालन गछौँ । यसबीच केही नयाँ निर्णय भएछ भने हामी तत्काल परिपत्र र योजना पठाउँछौँ ।”

भेरोसेलको दोस्रो मात्रा सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले एक वडा एउटा खोप केन्द्र तोकिसकेको छ । खोप केन्द्रमा कम्तीमा दुईजना खोपकर्ता र एकजना खोपकर्ता बराबर तीनजना स्वयंसेवक परिचालन हुनेछन् ।

पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा लगाउने दिन तोकिएको छ । तोकिएका व्यक्तिले तोकिएको दिनमा आफूनजिकको केन्द्रबाट खोप सेवा लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *