रोहित र सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालको जित 

काठमाडाैं । रोहितकुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेपछि पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले जित हासिल गरेको छ।

मंगलबार ओमानको अल अमेरत रंगशालामा भएको खेलमा नेपालले दुई विकेटले जित हासिल गरेको हो। रोहित र सोमपालले आठौं विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए।

पपुवा न्युगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले आठ विकेटको क्षतिमा ३९.३ ओभरमा पूरा गरेको छ।

नेपालका लागि रोहितले ४१, आशिफ शेखले ३०, सोमपालले २२ र कुशल भुर्तेलले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

पपुवा न्युगिनीका लागि गउडी टोकाले तीन, चाद सोपर र दमेइन रभुले दुई-दुई विकेट लिए।

यसअघि पहिलो इनिङमा पपुवा न्युगिनीले राम्रोसँग खेल्न सकेन। नेपाली बलरले शुरूआतदेखि नै दबाबमा राखेका थिए। पपुवा न्युगिनीले ३३ ओभर खेलेर १३४ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि सन्दीप लामिछानेले चार, विक्रम शोब र कुशल मल्लले दुई-दुई तथा सोमपालले एक विकेट लिएका थिए।

विक्रमले डेब्यू खेलको पहिलो बलमै विकेट लिएका थिए। उनले पाँच ओभर बलिङ गर्दा २० रन खर्चेर दुई विकेट लिए।

Leave a Reply

Your email address will not be published.