एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दा न्यायाधीशद्वय कार्की र खड्काको इजलासमा

काठमाडौं । एमालेले निष्कासन गरेका १४ संघीय सांसदलाई पदमुक्त गर्नुपर्ने भन्दै दायर मुद्दाको पेसी तोकिएको छ।

नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको र तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट परेको थियो।

सर्वोच्चले सोमबार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल दर्ताविरुद्धको मुद्दामा अन्तरिम आदेशबारे मुद्दाको पेशी पनि तोकेको छ।

दुवै मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय दीपक कार्की र मीरा खड्काको इजलासमा परेको छ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले दल दर्ताविरुद्ध वारेसनामामार्फत भदौ १७ मा तीन रिट दर्ता गराएका थिए।

एमालेले कारबाही सिफारिस गरेका १४ सांसद पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गर्दै रिट दायर भएको थियो।

ओलीले सभामुख अग्नि सापकोटा, निर्वाचन आयोगविरुद्ध रिट दर्ता गरेका थिए ।

एमालेले साउन २५ को केन्द्रिय कमिटीको बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो।

तर, सचिवालयले सो सूचना टाँस गर्न मानेको थिएन। आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिइसकेपछि मात्र संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने सूचना टाँसेको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर रिट दायर भएको थियो।

गत २२ भदौमा रिट माथी सुनुवाइ गर्दै सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाउन आदेश दिएको थियो।

Leave a Reply

Your email address will not be published.