प्रधान न्यायाधीश राणा भन्छन् ‘गजेन्द्र हमाललाई मन्त्री बनाउन मेरो कुनै संलग्नता छैन’

काठमाडाैं । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउन आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।

आइतबार नेपाल बार एसोसिएशनका अध्यक्ष सहित पदाधिकारीसँगको भेटमा प्रधान न्यायाधीश जबराले हमाललाई मन्त्री बनाउन कुनै पनि नेतालाई नभनेको बताएका हुन्।

आफूले कसैसँग पनि त्यसबारे कुराकानी नगरेको प्रधान न्यायाधीश जबराले स्पष्ट पारेको बैठकपछि बारका महासचिव लीलामणि पौड्यालले पत्रकारलाई सुनाए।

“मेरो जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले कहीं पनि भनेको छैन, मेरो नाता पर्नु दुर्भाग्य हो, तर यसमा मेरो कुनै संलग्नता छैन,” प्रधान न्यायाधीश जबराको भनाइ उद्धृत गर्दै महासचिव पौड्यालले भने।

प्रधान न्यायाधीश राणाले न्यायालय सुधारका विषयमा बारले उठाउँदै आएका सम्पूर्ण विषयमा आफू गम्भीर रहेको र त्यसका लागि तत्काल काम शुरू गर्ने छलफलमा बताएका थिए।

समग्र न्यायालय सुधारका विषयमा सोमबार १ः३० बजे प्रधानन्यायाधीश सहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फुल कोर्ट) बस्ने र त्यस बैठकमा बार पनि सहभागी भएर बृहत् छलफल गर्ने तय भएको छ।

बारले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बनाएको प्रतिवेदन कार्यान्वयन नगरेको, स्वतन्त्र न्यायपालिका निर्माणमा तदारुकता नदेखाएको भन्दै बारको शुक्रबारको निर्णय अनुसार आज प्रधान न्यायाधीशलाई भेट गरी ध्यानाकर्षण गराएको हो।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान न्यायाधीशसँग समसामयिक विषयमा समग्रमा कुराकानी भएको र सोमबार बस्ने सर्वोच्च अदालतको पूर्ण बैठकमा थप छलफल भई निष्कर्षमा पुग्ने बताए।

त्यो सुझाव अनुसार मङ्गलबार नै त्यसको काम शुरूआत गर्ने पनि भेटमा छलफल भएको बारका महासचिव पौडेलले जानकारी दिए। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *