जनस्वास्थ्यमा तानसेन नगरपालिकाको जोड, कोरोना प्रभावितका लागि कोभिड पोष्ट कार्यक्रम

सुनिल कार्की

पाल्पा । तानसेन नगरपालिकाले हालसम्म कोरोना संक्रमणको नियन्त्रणको लागि गरेको कामको बारेमा जानकारी गराएको छ । संक्षिप्त पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिकाले कोरोनाको रोकथामका लागि गरेको कामको बारेमा जानकारी गराएको हो ।

तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले तानसेन नगरपालिको सञ्चालन गरेको आइशोलेशन, बेड थप्ने योजना, अक्सिजन आपूर्तिको अवस्था, कोरोना प्रभावितलाई ल्याउन लागिएको राहातको बारेमा जानकारी दिनुभएको थियो ।

कोभिड पोष्ट कार्यक्रम

मेयर शाहीले नगरभित्र तीव्र फैलिएको कोरोनालाई कम गर्न टोलटोलमा कोरोना परीक्षणको दायारालाई वृद्धि गर्दै जाने बताउनुभएको छ । नगरपालिकाले निशुल्क रुपमा कोरोना संक्रमितको यातायातको सुविधाको लागि निशुल्क गाडीको सुविधा समेत मिलाएको छ । नगर सरकारले कोरोनाबाट प्रभावित भई रोजगारी गुमाएकालाई कोभिड पोष्ट कार्यक्रम सञ्चालन गरिने मेयर शाहीले जानकारी दिनुभएको छ । यस कार्यक्रमबाट उद्यमशीलताको प्रर्वद्धन गरी कोभिडबाट ज्यान गुमाएका परिवारका सदस्यलाई प्राथमिकता समेत दिईने छ ।

पछिल्लो समय देखा परेको अक्सिजन अभावको आपुर्तिको समस्यालाई हल गर्न अग्रीम अक्सिजनको बुकिङ भएको भन्दै अक्सिजन अभाव हुन नदिई नगारपालिकाले अक्सिजनयुक्त आइशोलेशन थप गर्ने समेत बताउनुभयो ।

निकट भविष्यमा देखापर्ने भनिएको कोरोनाको तेस्रो भेरियन्टलाई समेत मध्यनजर गरी नगरपालिकाले छुटै कोभिड अस्पतालको समेत निर्माण गर्न लागेको मेयर शाहीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । आइशोलेशको सञ्चालनको लागि देखा परेको स्वास्थ्यकर्मी अभावको समस्यालाई समाधान गर्न स्वास्थ्यकर्मी थप गर्ने योजनामा समेत नगरपालिका रहेको छ ।

फ्रन्टलाइनरलाई शतप्रतिशत जोखिम भत्ता

तानसेन नगर सरकारले आइशोलेशनमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता स्वरुप तलबको सत प्रतिशत जोखिम भत्ता दिने निणर्य समेत दिने भएको छ । यस्तै नगरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तलबको ३० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने नगरप्रमुख शाहीले बताउनुभयो ।

अनलाईन परीक्षाकाे प्रभावकारितामा प्रश्न

नगरभित्रका विद्यालयले परिक्षा सञ्चालन गर्ने विषयमा शिक्षा समितिमा अनलाईन परीक्षा लिने भन्ने छलफल भए पनि निणर्यमा नपुगेका कारण आवश्यक छलफलमा नगरपालिका जुटेको मेयर शाहीले जानकारी दिनुभयो । कार्यक्रमा सहभागी पत्रकारहरुले अनलाईन परीक्षा प्रभावकारी नहुने भन्दै यसलाई रोक्न मेयर शाहीलाई आग्रह गरेका थिए । बजार बसेर पढेका विद्यार्थी गाउँघर फर्केको, गाउँघरमा इन्टरनेट, बिजुलीको समस्या रहेकोले परिक्षा सञ्चालन गर्नु उचित नहुनेमा पत्रकारहरुले जोड दिएका थिए ।

कार्यक्रममा सहभागी पत्रकारहरुले परीक्षालाई रोक्नुपर्ने, अक्सिजनयुक्त आइशोलेशन थप्नुपर्ने, अक्सिजजन अभाव हुन नदिने, कोरोना परिक्षणको दरलाई वृद्धि गर्नुपर्ने, होम आइशोलेशनमा बसेका संक्रमितको स्वास्थ्य चेकजाँच र औषधीको व्यबस्था गर्नुपर्ने लगायतको बारेमा मेयर शाहीलाई ध्यानाकर्षण गराएका थिए ।

पत्रकार सम्मेलनमा तानसेन नगर सरकारका मेयर अशोक कुमार शाही,उपमेयर लक्ष्मी पाठक,प्रवक्ता दामोदर घिमिरे,पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम राना, श्रीनगर एफएमका स्टेशन म्यानेजनर देव पचभैया, पत्रकार महासंघ कार्यसमिति सदस्य सुनिल कार्की, महासंघका पुर्व अध्यक्ष प्रकाश नेपाल, करुवा अर्धसाप्ताहीकका सम्पादक कृष्ण कार्की, माधव अर्याल लगायको सहभागिता रहेको थियो ।

कार्यक्रम तानसेन नगरपालिकाका प्रेस सल्लाहाकार गोविन्द भट्टराईको सञ्चालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *