चीनमा मानिसमा देखियाे बर्डफ्लू, भेटिए २१ संक्रमित, विज्ञहरु चिन्तित

काठमाडौँ । चीनमा बर्डफ्लूबाट संक्रमित हुने मानिसको संख्या बढ्न थालेपछि विज्ञहरु चिन्तित हुन थालेका छन् ।

यो वर्ष चीनमा बर्डफ्लूबाट संक्रमित हुनेको संख्या अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढेको छ । गत वर्ष केबल पाँच जनामा बर्डफ्लू देखिएको थियो । तर यो वर्ष एच५एन६ नामक बर्डफ्लूको प्रजातिबाट २१ जना संक्रमित भएको छ ।

सन् २०१७ को तुलनामा बर्डफ्लूबाट यस वर्ष संक्रमित हुनेको संख्या निकै कम हो । २०१७ मा एच७एन९ नामक बर्डफ्लूको प्रजातिबाट सयौं मानिस संक्रमित भएका थिए ।

संक्रमितमध्ये कैयौं गम्भीर बिरामी भएका र कम्तिमा ६ जनाको ज्यान गएको थियो ।

तर पछिल्लो संक्रमणलाई लिएर विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । बर्डफ्लूको एच५एन६ प्रजाति निकै घातक रहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका हुन् ।

हाल फैलिइरहेको प्रजातिले आफैंलाई परिवर्तित गरिरहेको र थप संक्रामक बन्न सक्ने उनीहरुको भनाइ छ ।

‘यो वर्ष चीनमा बढेको मानव संक्रमण चिन्ताको विषय हो’, इरासमस विश्वविद्यालयका प्राध्यापक थिज्स कुकेनले भने, ‘यो यस्तो भाइरस हो जुन निकै घातक छ ।’

चीनमा देखिएका अधिकांश संक्रमण कुखुराको सम्पर्कमा आएर भएको डेली स्टारले जनाएको छ । मानवबाट मानवमा बर्डफ्लू संक्रमण नभएको विश्व स्वास्थ्य संगठनलाई उदृत गर्दै समाचारमा लेखिएको छ ।

जोखिम पहिचान गर्दै संक्रमित हुने मानिसको संख्या बढेको घटनाबारे तत्काल थप अनुसन्धान गर्नुपर्ने संगठनको भनाइ छ । –एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *