रवीन्द्र मिश्रको दस्तावेज पारित, अब विवेकशील साझा सङ्घीयता खारेजीको पक्षमा

काठमाडाैं । विवेकशील साझा पार्टी अब आधिकारिक रूपमै सङ्घीयताको खारेजी र धर्मनिरपेक्षताको विरोधमा लाग्ने भएको छ।

बिहीबार बसेको विवेकशील साझाको केन्द्रीय समिति बैठक अध्यक्ष रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ दस्तावेज पारित गर्दै सङ्घीयता र धर्मनिरपेक्षताको विरोधमा उभिएको हो।

अध्यक्ष मिश्रको दस्तावेज दुई तिहाइ बहुमतले पारित भएको प्रवक्ता शरदराज पाठकले जनाएका छन्।

केन्द्रीय समितिको बैठकका निर्णयबारे जानकारी दिन प्रवक्ता पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ,

“आज बसेको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गर्नुभएको दस्तावेज ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णय गर्दै दुई-तिहाइभन्दा बढी मतले पारित गरेको छ।”

अध्यक्ष मिश्रको दस्तावेजमा स्थानीय तहलाई पुनःसंरचना र सुदृढ गर्दै सङ्घीयता खारेज गर्नुपर्ने उल्लेख छ। त्यस्तै, धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रह गर्नुपर्ने अध्यक्ष मिश्रको दस्तावेजमा माग गरिएको छ।

आजको विवेकशील साझाको केन्द्रीय कमिटी बैठकमा ९१ जना उपस्थित रहेको प्रवक्ता पाठकले जनाएका छन्। उनले भनेका छन्,

“स्थानीय तहलाई पुन:संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्तावेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेका हुन्।”

यस्तै, केन्द्रीय समिति बैठकले विधान पनि संशोधन गर्दै पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका दिएको थियो। यसअघि अध्यक्ष र संयोजकको बराबरी भूमिका रहने व्यवस्था थियो।

विवेकशील साझाको अध्यक्षमा मिश्र छन् भने संयोजकमा मिलन पाण्डे रहेका छन्। आजको बैठकमा संयोजक पाण्डे पक्षका केन्द्रीय सदस्यको भने उपस्थिति थिएन।

Leave a Reply

Your email address will not be published.