काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज केन्द्रीय कमिटी बैठक बोलाएका छन्।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको सभाहलमा एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। आजको बैठकमा दुई वटा अजेन्डा रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
उनका अनुसार, आजको बैठकमा वडा र स्थानीय तहको अधिवेशनका विषयमा रिपोर्टिङ र समीक्षा हुनेछ। त्यस्तै, राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिका सम्बन्धी स्थायी कमिटीले गरेका निर्णयको अनुमोदन गरिनेछ।
बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका टुङ्गो लगाएको थियो।
स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशनमा एक हजार ५३६ प्रतिनिधिले भाग लिने टुङ्गो लगाएको हो। एमालेमा केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग,
केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय सल्लाहकार कमिटीका निश्चित सदस्य गरी २६२ जना पदेन प्रतिनिधिको व्यवस्था छ।
पदेन बाहेक भूगोलबाट एक हजार १९६ प्रतिनिधि चयन गरिनेछन्। विधानमा प्रतिनिधि सङ्ख्याको पाँच प्रतिशत मनोनयन गर्न पाउने व्यवस्था छ।