विमानको पांग्रा नखुलेको घटनामा क्याप्टेन आङ्गेलु शेर्पालाई कारबाही गर्न सिफारिश

काठमाडाैं । पांग्रा (ल्यान्डिङ गियर) नखुलेको भन्दै विराटनगर उडेको बुद्ध एयरको विमान काठमाडौं फर्काएको घट्ना छानविन गर्न गठित समितिले क्याप्टेन आङ्गेलु शेर्पालाई कारबाही गर्न सिफारिश गरेको छ।

वरिष्ठ क्याप्टेन ददिराम निरौला संयोजक रहेको समितिले क्याप्टेन शेर्पाको प्रशिक्षक पाइलट इजाजत तीन महीना निलम्बन गर्न सिफारिश गरेको समितिका एक सदस्यले जानकारी दिए।

ती सदस्यका अनुसार, शेर्पाको प्रशिक्षक डिजिग्नेटेड चेक पाइलट (डीसीपी) इजाजत पनि ६ महीना निलम्बन गर्नुपर्ने निश्कर्ष सहितको प्रतिवेदन बुझाइएको हो।

११ असोजमा ७३ यात्रु बोकेर काठमाडौंबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको विमान अवतरणको क्रममा पांग्रा नखुलेको भन्दै काठमाडौं फर्काइएको थियो। यात्रुको ज्यान जोगाएको भन्दै क्याप्टेन शेर्पाको प्रसंशा गरिएको थियो।

तर, छानबिन समितिले भने उनलाई कारबाही गर्न सिफारिश गरेको छ। वरिष्ठ क्याप्टेन निरौलाको नेतृत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो।

छानविन समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई बुझाएको प्रतिवेदनमा अवतरण गर्ने वेलामा पांग्रा खुलेको तर चालक दलका सदस्यहरूले देख्न नसकेको उल्लेख छ।

असावधानीवश संकेत बत्ती  ‘डे मोड’ मा नराखिएको पाइएको समितिका अर्का सदस्यले बताए। को–पाइलट अमन अन्सारीलाई पनि कारबाहीको सिफारिश गरिएको उनले जानकारी दिए।

प्राधिकरणका महानिर्देशक क्षेत्रीले भने समितिले प्रतिवेदन बुझाए पनि विभिन्न प्रक्रिया बाँकी रहेको बताए।

उनले भने, “भर्खरै समितिले प्रतिवेदन बुझाएको छ, थप प्रक्रिया पूरा भइसकेपछि मात्रै कन्टेन्टको विषयमा औपचारिक प्रतिक्रिया दिन सक्छु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *