पाँच लाख परिवारलाई १० हजार दिने प्रक्रिया शुरू, निवेदन आह्वान

काठमाडाैं । कोभिड-१९ को महामारीको समयमा रोजगारी गुमाएका अति विपन्न पाँच लाख परिवारलाई १० हजार रुपैयाँ दिने प्रक्रिया शुरू भएको छ।

अर्थ मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी अति विपन्न परिवारलाई राहत दिने प्रक्रिया थालेको हो। यसका लागि १५ दिनभित्र आ-आफ्नो वडा कार्यालयमा निवेदन दिन आह्वान गरेको छ।

यसमा रोजगारी गुमाएका कुनै पनि परिवारले निवेदन दिन सक्नेछन्। आफूले बसोबास गरेको वडा कार्यालयमा निवेदन सकिनेछ।

कम्तीमा ६ महीनादेखि सम्बन्धित वडामा बसेको हुनुपर्नेछ। यसमा परिवारको एक जना सदस्यले निवेदन दिए पुग्ने अर्थ मन्त्रालयले जनाएको छ।

विगतमा गर्दै आएको रोजगारी गुमाएका र नयाँ रोजगारी नपाएका मजदूर वा कामदारले निवेदन दिन सक्नेछन्।

त्यस्तै, खुला सडक, फूटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्याला-मजदूरी गर्ने भरिया, कृषि मजदूर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्साचालक, ठेलागाडा मजदूर, सार्वजनिक यातायातका मजदूर, पर्यटक भरियाले निवेदन दिन पाउनेछन्।

यससँगै कोभिड-१९ सङ्क्रमणका कारण आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक सङ्कट झेल्नुपरेका परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारले पनि राहत पाउनेछन्।

Leave a Reply

Your email address will not be published.