पाँच दलीय गठबन्धनद्वारा प्रतिनिधिसभा विघटन अस्वीकार, राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमको पाँच दलका शीर्ष नेताहरूले राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्ने जनाएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरी कात्तिक र मंसिरमा मध्यावधि चुनावको घोषणा गरेकी छिन्। यसको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले राजनीतिक तथा कानूनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो।

शनिबार पत्रकार सम्मेलन गरेर कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपति र प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका हुन्।

“प्रतिनिधि सभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको हामी घोर निन्दा र भर्त्सना गर्दछौं,” उनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भई राजनीति र कानूनी रूपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं।”

Leave a Reply

Your email address will not be published.