गुल्मीमा चुनौतीपूर्ण बन्दै सडक बालबालिकाको व्यवस्थापन

हुमाकान्त पाेखरेल
तम्घास । गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित बसपार्कमा सागर नेपाली बिहान सबेरैदेखि राति अबेरसम्म भेटिन्छन् । उनी सदरमुकामको तम्घास बजारमा अन्य कुनै कामले होइन, विभिन्न मानिससँग पैसा माग्दै हिँड्छन् ।

आफ्नो वास्तविक ठेगाना र उमेर पनि थाहा नभएका उनी अन्दाजी आठ वर्षका देखिन्छन् । घरमा बुवा, आमा, दिदी र दाइ रहेका र दाइ हिमाल र उनीसँगै बजारमा पैसा माग्न हिँड्छन् भने बुवा पल्लेदारका रूपमा काम गर्नुहुन्छ ।

“दिनभर पैसा माग्छौँ, एक जनाले रु पाँचदेखि ४० सम्म दिन्छन्”, सागरले भने, “मागेको पैसा घरबेटीलाई भाडा बुझाउन आमालाई दिन्छौँ ।” उनी खानीगाउँस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा अध्ययनरत छन् ।

तिहारपछि विद्यालय सञ्चालन भइरहेको छ तर दिदीले विद्यालयमा नभई पैसा माग्न पठाएर आफू बजारमा हिँडेको उनी बताउँछन् ।

हिमालले विद्यालय सञ्चालन हुने÷नहुनेबारे आफूहरूलाई केही थाहा नहुने र रातिमाबाहेक अन्य समयमा आफूहरु कहिले समूहमा त कहिले एक्लै पैसा माग्न जाने उनी बताउँछन् ।

सागर र हिमाल त बजारमा माग्दै हिँड्ने सडक बालबालिकाका प्रतिनिधिमूलक पात्रमात्रै हुन् । उनीहरुजस्ता कतिपय बालबालिका अझै पनि जीवन गुजाराकै लागि बजारमा कसैले फालेका फलफूल एवं खानेकुरा खान्छन् ।

होटलबाट फालिएको खाना, खाएर फालेको फलफूल, ढलमा फ्याँकिएका वस्तुलगायतका खाद्यान्न एवं नगद आउने सामग्री बालबालिकाका जीवन गुजार्ने माध्यम बनेका छन् ।

सदरमुकाम तम्घासको उदिनढुङ्गा, मिलनचोक, भीमचोक, लाकुरीमञ्च, खानीगाउँ, बसपार्कलगायतका ठाउँ बालबालिकाका लागि पैसा माग्ने मुख्य ठाउँ हुन् ।

बसपार्क र उदिनढुङ्गामा मानिस सवारी चढ्ने÷ओर्लने भएकाले बालबालिकाहरूको बढी भीड हुन्छ । तम्घासमा पैसा माग्दै हिँड्नेमध्ये अधिकाशंका बाबु–आमा छन्

। उनीहरूको राम्रो हेरचाह नगर्दा अहिले सडकमा बालबालिका मगन्ते जीवन बिताइरहेका छन् । सडक बालबालिकाले पैसा माग्दा कतिपयले कुटपिटसमेत गर्दछन् । यसका कारण सडक बालबालिकाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

पसलबाट सामान लैजान्छन् ः व्यापारी

बालबालिकाले बाटोमा हिँड्ने मानिस र व्यापारीसँग पैसा माग्नेमात्रै होइन, पसलबाट खानेकुरासमेत लैजान्छन् । व्यापारीका आँखा छलेर चाउचाउ, दालमोट, बिस्कुटलगायतका खानेकुरा आफैँले झिक्ने गरेका छन् । “म नभएको बेला आफैँ झिकेर कयौँपटक लगे, बालबालिका भएकाले कुटपिट गर्न मानवताले दिएन ।”

बसपार्कमा किराना पसल सञ्चालन गर्दै आउनुभएका हरि पाण्डेले भन्नुभयो, “सडक बालबालिकाको उचित व्यवस्थापन जरुरी छ ।” तत्कालै यस्ता बालबालिकाको व्यवस्थापन गर्न नसके भविष्यमा ठूलो समस्या झेल्नुपर्ने उहाँले बताउनुभयो ।

धुर्कोट गाउँपालिका–७ वाग्लाका ३२ वर्षीय रमेश विश्वकर्माले घर छाडेको १३ वर्ष भयो । रोजगारीका लागि बीचमा केही समय भारतमा गएका र पछिल्लो केही वर्षयता तम्घासमै बस्दै आएका छन् ।

बसपार्कमा उहाँ र श्रीमतीसहित दुई छोरा र दुई छोरी बस्नुहुन्छ । यसमध्ये सात वर्षीय छोरा र एक छोरी बिहानदेखि बेलुकीसम्म बजारमा पैैसा माग्न हिँड्ने उहाँले बताउनुभयो ।

“मैले दिनभर काम गरेको पैसाले बिहान–बेलुका खान पनि मुस्किलले पुग्छ”, उहाँले भन्नुभयो, “केटाकेटीलाई पढाउन खर्चले पुग्दैन ।”

छोराछोरीलाई माग्न पठाउने आफ्नो रहर नभई बाध्यता भएको उहाँले सुनाउनुभयो । राज्यले पढाइ खर्चमा सहयोग गरे विद्यालय पठाउने पनि उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।

पल्लेदारकै रूपमा काम गर्ने अर्का अभिभावक सुशील नेपालीले पनि राज्यले सहयोग गरेमा आफ्ना बालबालिकालाई विद्यालय पठाउने बताउनुभयो ।

बजारमा बालबालिका छाड्नेहरूका अभिभावक तम्घासमै पल्लेदारका रूपमा काम गर्नुहुन्छ । उहाँहरुले ज्यालादारी गरेर दैनिक सातदेखि एक हजारसम्म आम्दानी गर्नुहुन्छ । अधिकाशं अभिभावकले दिनभर कमाएको पैसाले मादक पदार्थ सेवन गर्दा बालबालिकाको व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तमप्रसाद पाण्डेले बालबालिकाले पसलमा चोरी गरेको निवेदन कार्यालयमा आउने गरेको बताउनुभयो । त्यसका साथै मोटरसाइकलमा क्षति गरेको, जबर्जस्ती पैसा लगेकोजस्ता उजुरी कार्यालयमा आउने उहाँको भनाइ छ ।

तम्घासमा माग्दै हिँड्ने १३ बालबालिका रहेको र उनीहरुलाई रेसुङ्गा नगरपालिका–८ को वडा कार्यालयको समन्वयमा सिद्धबाबा माध्यमिक विद्यालयमा पढाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

“तेह्र जनामध्ये दुई जनाका मात्र अभिभावक छैनन्, बाँकी ११ जनाका अभिभावक भएर पनि स्याहार नगरेका हुन्”, सूचना अधिकारी पाण्डेले भन्नुभयो, “अहिलेलाई विद्यालय पठाउने तयारी भइरहेको छ ।”

यसका साथै उहाँले राज्यले नै एउटा नीति बनाएर व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले स्थानीय तहले बालबालिकाको जिम्मेवारी लिनुपर्ने र नभए परिवार स्वयंले लिनुपर्नेमा बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published.