सुवास नेम्वाङ वरिष्ठ उपाध्यक्षबाट ब्याक

चितवन । नेकपा एमालेका नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको रेसबाट ब्याक हुने संकेत गरेका छन् । उनले पार्टी एकता कायम हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताएका छन् ।

‘पार्टी एकता कायम गर्नुपर्छ । त्यही मेरो मान्यता हो । पार्टीको हितका लागि अध्यक्षले सही निर्णय लिनुहुन्छ भन्ने मेरो विश्वास छ’, उनले भने ।

सञ्चारकर्मीले वरिष्ठ उपाध्यक्षको दाबी छोड्नु भएको हो भन्ने जिज्ञासामा नेता नेम्वाङले उम्मेदवारी एउटा सन्दर्भमा भएको बताएका थिए ।

उनले अध्यक्षले पार्टीको हित र एकता कायम हुने गरी प्रस्ताव ल्याउनेमा आफू विश्वस्त रहेको बताएका छन् । बिहानसम्म नेम्वाङ वरिष्ठ उपाध्यक्ष अडानमा रहेका थिए ।

सहमतिमै नेतृत्व चयनका लागि ९० प्रतिशत कुरा मिलिसकेको गुरुङको दाबी

नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङले सहमतिमै नेतृत्व चयन गर्नका लागि नेतहरूबीच ९० प्रतिशत कुरा मिलिसकेको दाबी गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि उनले छोटो प्रतिक्रिया दिँदै पत्रकारहरूसँग भने, ‘सहमतिका लागि हाम्रो प्रयास जारी छ ।

अध्यक्षबाहेक अन्य पदमा लगभग सहमति जुटिसकेको छ ।’ अध्यक्षका लागि पनि सर्वसम्मति गर्न छलफल भइरहेको उनको भनाइ छ ।

बाँकी कुरामा सहमति जुटाएर अब केहीबेरमै बन्दसत्र शुरू गरिने उनको भनाइ छ ।

यसैबीच, एमालेका चार जना नेताले ३०१ जना केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइसकेको सूचना प्राप्त भएको छ ।

संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मेवारी दिएबमोजिम उनीहरूले उत्तः सूची बुझाएको बताइएको छ ।

उनीहरूले बुझाएको सूचीलाई अध्यक्ष ओलीले अन्तिम रुप दिएपछि बन्दसत्र शुरू गरेर पेश गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *