मतदान सकिएलगत्तै भीम रावलले भने- आचार संहिता विपरीत केही कुरा भएका छन्

चितवन । नेकपा (एमाले)को अध्यक्ष पदका उम्मेदवार भीम रावलले मतदान स्थलमा आचार संहिता विपरीत केही कुरा भएको बताएका छन्।

मतदान सकिएलगत्तै सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा रावलले निर्वाचनका क्रममा केही गलत काम भएको बताएका हुन्। “निर्वाचनमै जानुपर्छ भन्ने मेरो धारणा थियो, मेरो धारणा अनुसार नै भएको ठानेको छु,” रावलले भने, “तर, यो निर्वाचनका क्रममा आचार संहिता विपरीत केही कुरा भएका छन्।”

एमाले केन्द्रीय निर्वाचन आयोगले समूहगत रुपमा प्रचार गर्न नपाइने आचार संहिता बनाएको थियो। तर, मतदान स्थलमा केपी शर्मा ओली पक्षले रावल लगायत केही उम्मेदवारको सूची बनाएरै मतदान नगर्न प्रचार गरेको थियो।

त्यसलाई उल्लेख गर्दै रावलले भने, “आचार संहितामा समूहगत सूची बाड्न नपाइने भन्ने थियो, तर बाहिर बाँडियो। त्यस्तो नगरौं भन्ने साथीहरूमाथि हातपात भयो। त्यो गलत हो।,”

यससँगै पर्यवेक्षकलाई पनि मतदान गराउन खोजिएको र आफूले रोकेको उनले बताए। “केही सदस्यता फरक परेकाले पनि मतदान गर्न खोजे, तर त्यसलाई रोकियो।”

विद्युतीय भोटिङ मेसिनको प्रयोग पहिलो भएकाले यसको विषयमा धेरै भन्न नसकिने उनको भनाइ थियो। यसमा सबै ठीकै होला भन्ने विश्वास गरेको उनले सुनाए।

त्यस्तै, केन्द्रीय सदस्यमा भने आफूले उम्मेदवारी नदिएकाले स्वीकार नगर्ने बताए। “मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ, त्यसबाहेकका पदमा उम्मेदवारी दिएको छैन, ति पद स्वीकार्ने कुरा हुँदैन,” रावलले भने।

ओली जारी गरेको केन्द्रीय सदस्यको सूचीमा उनको पनि नाम रहेको थियो। मतदानका क्रममा पनि उनको नाम समावेश गरिएको छ।

एमालेको नेतृत्व चयनका लागि मतदान सकिएको छ। अबको तीन घण्टाभित्र मत परिणाम घोषणा हुने आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *