एमालेको अध्यक्षमा पुन: ओली निर्वाचित, कसकाे कति मत ?

काठमाडौँ । नेकपा (एमाले)को अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन्।

सर्वसम्मत हुने ओलीको आंकाक्षामा भीम रावलले चुनौती खडा गरेपछि उनी महाधिवेशनमा मंगलबार भएको मतदानबाट बहुमतले विजयी भएका हुन् ।

उनले अहिलेसम्म १८०८ मत ल्याएका छन् । रावलले २१३ मत पाएका छन् । स्रोतका अनुसार गणना गरेको मतको रुजु भइरहेकोले प्राप्त मतको संख्या बढ्न सक्नेछ ।

२०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका ओली २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि निरन्तर अध्यक्ष नै थिए ।

एमाले र माओवादी केन्द्रको एकता गत वर्ष फागुनमा अदालतको आदेशका कारण भंग भएपछि एमालेले १०औं महाधिवेशन गरेको हो ।

यो महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहन्थे । पार्टीभित्र विभिन्न मनोविज्ञानका नेताहरू रहेकाले तीनलाई व्यवस्थापन गर्न भन्दै ओलीले केन्द्रीय कमिटी नै आफूले प्रस्तावित गरे ।

तर, उनको प्रस्ताव रावललगायतका नेताले अस्वीकार गरेपछि एमाले महाधिवेशनमा चुनावको अवस्था सिर्जना भएको हो । ओलीको गत आइतबार घोषणा गरेको सूचीअनुसार धेरै नेताहरू निर्वाचनमा सर्वसम्मत चयन भए ।

तर, ओलीको आफू सर्वसम्मत हुने इच्छा भने पूरा भएन । उनले नेता भीम रावलसँग प्रतिस्पर्धा गरे ।

ओलीले यसअघिको नवौं महाधिवेशनमा नेता माधवकुमार नेपाललाई ४६ मतको अन्तरमा हराएर विजयी बनेका थिए । यसपटक रावलसँग भने उनको फराकिलो मतअन्तर भयो । ओलीले आफूलाई निर्विकल्प ठानेका थिए ।

यसअघि गोदावरीमा भएको विधान महाधिवेशनबाटै ओलीलाई निर्विकल्प नेतृत्वको माहोल बनाइएको थियो । निर्विकल्प बन्ने नाममा पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा समेत अंकुश लगाउने कोसिस भएपछि ओलीविरुद्ध उम्मेदवारी पर्ने स्थिति देखा परेको हो ।

माधव नेपाल समूहमा रहेका रावल १० बुँदे सहमति गरेर एमालेमै बस्ने निर्णय गरेका थिए । त्यसपछि पार्टीभित्रको विगतको संरचना अनुसार आफूले भूमिका पाउनुपर्ने माग गर्दै आएका थिए ।

तर ओलीले त्यसअनुकूल भूमिका नदिएपछि रावल चिढिंदै आएका थिए । रावलको असहमतिको त्यही स्वर अहिले ओलीका लागि महाधिवेशनमा चुनौतीको रुपमा प्रकट भएको हो ।

यो महाधिवेशनबाट ओलीले आफूअनुकूलको केन्द्रीय कमिटी तयार गरेका छन् । तर, उनको यो प्रयासलाई आलोचकहरूले एमालेले वर्षौंदेखि गर्दै आएको लोकतान्त्रिक अभ्यासमा लागेको कालोधब्बाको रुपमा पनि चित्रण गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *