उपाध्यक्ष जित्नेमा अष्टलक्ष्मीको सबैभन्दा बढी मत, बादलको सबैभन्दा कम, कसकाे कति मत ?

चितवन । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना भइरहेको छ।

पदाधिकारीमध्ये उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएर विजयी नजिक छन्। उनले हालसम्म १९७६ मत पाएकी छन्।

यस्तै दोस्रोमा सुरेन्द्र पाण्डेले १९२५ सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८ मत पाएका छन्। घनश्याम भुसालले जम्मा ७२५ मत पाए।

मत परिणाम गन्ने काम लगभग सकिएको छ। केही मत मात्र गन्न बाँकी रहेको स्रोतले जानकारी दिएको छ।यो सँगै ६ जना उपाध्यक्ष निर्वाचित हुँदा केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध उम्मेद्वारी दिएका घनश्याम भुसाल पराजित भएका छन्।

याे पनि पढ्नुस्

केपी शर्मा ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित

नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित भएका छन्।

मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम रावललाई भारी मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्।

ओलीले १८३७ सय मत ल्याएका छन् भने भीम रावलले २२३ सय मत पाएका छन्। अन्तिम मत परिणामको घोषणा हुन भने बाँकी छ।

अध्यक्ष ओलीले यसपालि सर्वसम्मत नेतृत्व चयनको प्रयत्न गरेका थिए। बन्दसत्रले नै उनलाई ३०१ केन्द्रीय सदस्यसहित पदाधिकारी चुन्ने सर्वाधिकार दिएको थियो।

त्यहीअनुसार ओ‌लीले सूची पनि बनाएका थिए। तर उनको सूचीमा असहमति जनाउँदै रावलले उम्मेदवारी दिएका थिए।

नेकपा एमाले अध्यक्ष प्रणालीमा गएपछि लगातार दोस्रो पटक अध्यक्ष चुनिने ओली पहिलो नेता हुन्।

यसअघि ओली नवौं महाधिवेशनमा प्रत्यासी माधवकुमार नेपाललाई हराएर अध्यक्ष निर्वाचित भएका थिए। पहिलो कार्यकाल पार्टी अध्यक्ष हुँदा ओली दुई पटक प्रधानमन्त्री भएका थिए।

दसौं महाधिवेशनबाट ईश्वर पोखरेल वरिष्ठ अध्यक्ष र शंकर पोखरेल महासचिवमा निर्विरोध निर्वाचित भएका थिए।

उपाध्यक्ष, सचिवलगायत विभिन्न क्लस्टरका केन्द्रीय सदस्यका लागि पनि मतदान भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *