नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित भेटिएको पुष्टि

काठमाडाैं । नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

सोमवार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह-प्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट भेटिएको जानकारी दिए।

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको उनले बताए। उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ।

यो भरिअन्ट अत्यधिक उत्परिवर्तित भएको भनिएपनि खोपको प्रभावकारिता हुने वा नहुनेबारे बैज्ञानिकहरू अझैसम्म स्पष्ट भइसकेका छैनन्।

विश्व स्वास्थ्य सङ्गठनका वैज्ञानिकहरूले यसबाट नआत्तिन तर सचेत रहन आग्रह गरेका छन्।

विश्वका धेरै देशहरूले दक्षिण अफ्रिका सहित ओमिक्रोन भेटिएका देशहरूमा यात्रा प्रतिबन्ध लगाएका छन्। नेपालले पनि दक्षिण अफ्रिकाबाट नेपाल आउन रोक लगाएको छ।

नेपालमा ३५ प्रतिशतले एक मात्रा र २८ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन्।

नयाँ भेरिअन्ट आएसँगै अग्रपङ्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी लगायतलाई खोपको बुस्टर मात्रा दिनुपर्ने माग भइरहेको छ।

के हो ओमिक्रोन ?
दक्षिण अफ्रिकाको बोत्सवानामा पहिलो पटक पहिचान भएको कोभिड १९ को पछिल्लो भेरियन्टको नाम हो ‘ओमिक्रोन’ । हाल विश्वको विभिन्न देशहरुमा ओमिक्रोन देखा परिसकेको छ ।
अमेरिका, अस्ट्रेलिया, अफ्रिकी देश, यूरोप र एसियाका विभिन्न देशहरुमा ओमिक्रोन भेरियन्ट देखा परिसकेको छ भने हालसम्म दक्षिण एसियाली देशहरुमा ओमिक्रोन भेरियन्ट फेला परेको जानकारी छैन ।
तर कोभिड निकै नै चाँडो एक अर्कामा सर्ने र फैलिने हुँदा विश्वका धेरै देशहरुले एक देशबाट अर्को देशमा हुने यात्रामा प्रतिबन्ध लगाएका छन् ।
नेपाल सरकारले हाललाई अफ्रिकाका देशहरुबाट आउने यात्रुहरुलाई प्रतिबन्ध लगाएको छ । यसै गरी भारत सिमा नाकाबाट आउने अफ्रिकी देशका यात्रुहरुलाई प्रवेशाज्ञा नदिने व्यवस्था गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंसिर १५ गते विज्ञप्ति प्रकाशित गर्दै सचेत रही अत्यावश्यक बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अपिल गरेको छ ।
हालसम्म ओमिक्रोन भेरियन्ट कति खतरनाक छ भन्ने तथ्य सार्वजनिक भइसकेको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार यो पुराना कोभिड भेरियन्टभन्दा धेरै संक्रामक र घातक छ कि छैन भन्ने हालसम्म पत्ता लागिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *