यूकेमा नर्स पठाउँदा नेपाललाई के फाइदा, के बेफाइदा ?

बीबीसी । नेपाली नर्सहरूलाई यूकेमा रोजगारीबारे “प्रारम्भिक चरणका छलफलहरू भइरहेको” अधिकारीहरूले बताएका छन्।

अबको केही समयपछि त्यसको स्पष्ट खाका तयार हुने र चाँडै नै नेपाली नर्सहरूलाई यूके पठाउने क्रम सुरु हुने उनीहरूको भनाइ छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले चाहिँ अबको दुई महिनाभित्र नर्सहरू पठाउन सुरु गरिसक्ने बताएका छन्।

तर स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका साथै स्वास्थ्य क्षेत्रका कतिपय जानकारहरूले ठूलो मात्रामा दक्ष जनशक्ति विदेश पठाउँदा त्यसले देशलाई घाटा पुग्ने बताइरहेका छन्।

मन्त्री कृष्णकुमार श्रेष्ठले भने, “स्टाफ नर्सको कुरा अघि बढेको छ। दुई चरण कुराकानी भइसकेको छ। लगभग दुई महिना भित्रमा यूकेमा नर्स पठाउन सुरु गर्छौँ।”

तर यससम्बन्धी वार्तामा सहभागी एक अधिकारीले अझै धेरै प्रक्रियागत कुराहरू मिलाउन बाँकी रहेको बताएका छन्।

अहिले के भइरहेको छ?

यूकेले नेपालबाट नर्सहरू लाने चासो व्यक्त गरेर त्यसै अनुसार प्रस्ताव अघि बढाएको सरकारी अधिकारीहरूको भनाइ छ।

प्रस्ताव अनुसार सरकारी स्तरबाटै शून्य लागतमा नेपाली नर्सहरूले वैदेशिक रोजगारीका लागि यूके जान पाउनेछन्।

कतिपयका भनाइमा यो नेपाली नर्सहरूका लागि आएको “सुनौलो अवसर” हो।

तर केही विज्ञहरूले यसले नेपालको स्वास्थ्य क्षेत्रलाई नराम्रो असर पार्ने बताइरहेका छन्।

बीबीसीले श्रम तथा स्वास्थ्य अधिकारीहरू र जानकारहरूसँग यसबाट नेपाललाई हुनसक्ने फाइदा र बेफाइदाबारे सोधेको थियो। उनीहरूको भनाइबाट नेपाललाई हुने चार फाइदा र चार बेफाइदाहरू यसप्रकार देखिएका छन्।

१. राम्रो आम्दानी
नेपाली नर्सहरूले यूकेमा काम गर्न जान पाउँदा उनीहरूले नेपालको तुलनामा निकै राम्रो आम्दानी गर्न सक्छन्।

नेपालमा विशेष गरी निजी क्षेत्रमा कार्यरत नर्सहरूले एकदमै कम पारिश्रमिकमा काम गरिरहेका बेला यो निकै राम्रो अवसर भएको कतिपयको भनाइ छ।

नेपाल नर्सिङ सङ्घकी पूर्वअध्यक्ष र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कूल अफ नर्सिङकी डिन प्राध्यापक सरला केसी भन्छिन्, “यो त नेपाली नर्सहरूका लागि सुनौलो अवसर हो।”

उनी नेपालमा लाखौँ खर्च गरेर नर्सिङ अध्ययन गरेका कैयौँ व्यक्तिहरू बेरोजगार रहेको वा एकदमै थोरै पारिश्रमिकमा काम गर्न बाध्य भएका बेला यो व्यक्तिगत आम्दानीका हिसाबले राम्रो भएको बताउँछिन्।

यूकेमा नेपाली नर्सहरूको तलब कति हुन्छ भन्ने विवरण आइसकेको छैन। यद्यपि मासिक दुई लाख ५० हजार नेपाली रुपैयाँको हाराहारी पारिश्रमिक हुने खबरहरू आएका छन्।

२. क्षमता अभिवृद्धि

नेपाली नर्सहरू विकसित देशमा काम गर्न जान पाउँदा उनीहरूको दक्षता र सीप अभिवृद्धि हुने कतिपयको धारणा छ।

उनीहरूका भनाइमा त्यसरी विदेश जानेहरू सबै उतै बस्छन् भन्ने नभएको र उनीहरू फर्किएर आउँदा देशलाई नै फाइदा पुग्नेछ।

महामारीका बेला देशमै नर्सको आवश्यकता हुनसक्ने धारणा राख्ने सरकारी अधिकारीहरू पनि विदेश गएर नर्सहरूले दक्षता र क्षमता बढाउनेमा सहमत छन्।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्, “विदेशबाट थप ज्ञान सीप सिकेर आउँदा त्यसले फाइदै पनि पुग्न सक्छ।”

प्राध्यापक केसी पनि विदेशमा सीप सिकेर आउनेहरू देशमा फर्किए भने त्यो सीप र दक्षता उपयोग गर्न सकिने बताउँछिन्।

३. अवसरको ढोका

नेपाली नर्सहरू यूकेजस्ता विकसित देशहरूमा गएर उनीहरूको छवि राम्रो बन्दा अन्य नेपाली नर्सहरूलाई त्यो बाहेकका श्रम गन्तव्यमा पनि बाटो खुल्ने कतिपयको धारणा छ।

नेपाल नर्सिङ परिषद्‌की रजिस्ट्रार सहप्राध्यापक बिन्दा घिमिरे नेपाली नर्सहरूलाई विदेश पठाउनु हुँदैन भन्ने पक्षमा छिन्।

तर व्यक्तिगत अवसरका रूपमा नर्सहरू विदेशमा जाँदा त्यो सञ्जालले धेरैलाई अवसरको ढोका खोल्नेमा उनी सहमत छिन्।

घिमिरे कतिपय नेपाली नर्सहरू व्यक्तिगत पहलमा यूके पुगेर त्यहाँको सम्पर्क प्रयोग गरी थप पारिश्रमिक र सुविधायुक्त अन्य देशमा गएको आफूले पनि जानकारी पाएको बताउँछिन्।

मन्त्रालयका डा. अधिकारी पनि विदेशमा काम गरेका नर्सहरूले आफ्नो सञ्जाल प्रयोग गरेर अरू अवसरको ढोका खोल्नसक्ने बताउँछन्।

४. रेमिट्यान्समा योगदान

प्राविधिक जनशक्ति भएकाले नर्सहरू विदेश जाँदा नेपालको रेमिट्यान्स आम्दानीमा बल पुग्ने पनि जानकारहरूको भनाइ छ।

प्राध्यापक केसी भन्छिन्, “अदक्ष कामदारहरू विदेशमा गएर उनीहरूले पठाएको रेमिट्यान्सले देश धानिएका बेला नर्सहरू भनेका त दक्ष हुन्। उनीहरूले पठाउने रेमिट्यान्सले नेपालमा थप बल पुग्छ।”

वैदेशिक रोजगारीमा जाने अदक्ष वा अर्धदक्ष कामदारभन्दा दक्ष कामदारको तुलनात्मक रूपमा तलब धेरै हुने गर्छ।

बढी आम्दानी गर्नेले पठाउने रेमिट्यान्स पनि धेरै हुने हुनाले त्यसले अन्तत: देशको अर्थतन्त्रमा फाइदै पुग्ने जानकारहरू बताउँछन्।

ठूलो सङ्ख्यामा नर्सहरू यूके पठाउँदा हुने बेफाइदाहरू:

१. नेपालमै अभाव हुनसक्ने

ठूलो मात्रामा नेपाली नर्सहरूलाई विदेश पठाउँदा नेपालमै नर्सको अभाव हुनसक्ने चिन्ता कतिपयको छ।

गत वर्ष पनि त्यस्तैखाले प्रस्ताव आउँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समेत महामारीका बेला नेपालमै नर्सहरूको अभाव हुनसक्ने भन्दै विदेश नपठाउन सुझाव दिएको थियो।

तर यसपटक प्रस्तावबारे मन्त्रालयलाई जानकारी नभएको सह-प्रवक्ता अधिकारी बताउँछन्।

परिषद्की रजिस्ट्रार घिमिरे चाहिँ नेपालमा अहिले नै बिरामी र नर्सको अनुपात कम रहेको बताउँछिन्।

उनी भन्छिन्, “अहिले झट्ट हेर्दा नर्सहरू बेरोजगार छन् भन्ने जस्तो देखिए पनि नयाँ मापदण्डका कारण अहिले धेरै कलेजहरूले नर्सिङमा भर्ना लिन पाएका छैनन्।”

“दुई वर्षपछि अहिलेको तुलनामा उत्पादन हुँदैन। अनि त्यसबेला नेपालमै नर्सको अभाव हुने अवस्था आउन सक्छ।”

नर्सिङ अध्यापन गर्नेसम्बन्धी नयाँ मापदण्डहरू लागु भएपछि यस वर्षको शैक्षिक सत्रमा कैयौँ कलेजहरूले भर्ना लिन पाएका छैनन्।

हरेक एक हजारमा बिरामीका लागि ४.४५ जना स्वास्थ्यकर्मी आवश्यक हुने विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड रहेको र त्यो अनुसार पुर्‍याउन पनि नेपालमा नर्सहरूको आवश्यकता बढ्ने घिमिरे बताउँछिन्।

२. विशेषज्ञ सेवाको अभाव हुनसक्ने

घिमिरेका भनाइमा अहिले नेपालमा पनि नर्सहरूले क्रिटिकल केअर, सुत्केरी गराउने वा मनोचिकित्सा जस्ता विभिन्न विषयमा विशेषज्ञता हासिल गरेका छन्।

विदेशमा पनि त्यस्तै खाले नर्सहरूको माग बढी हुने गरेकाले नेपालका विशेषज्ञ नर्सहरू विदेशिने सम्भावना बढी हुन्छ।

त्यस्तो अवस्थामा नेपालमा विशेषज्ञ सेवा दिन सक्ने नर्सहरू नै नपाउने अवस्था पनि आउन सक्ने घिमिरेको भनाइ छ।

प्राध्यापक केसी पनि नेपालमा राम्रो सेवासुविधा नपाएर नर्सहरू विदेशिएपछि उपयुक्त सेवाको अभाव हुनसक्ने ठान्छिन्।

तर उनी त्यस्तो अवस्था आएपछि बल्ल राज्यको ध्यान नर्सिङ सेवाप्रति जाने बताउँछिन्।

३. विदेशबाट नर्स ल्याउनु पर्ने अवस्था आउनसक्ने

ठूलो सङ्ख्यामा नेपाली नर्सहरू विदेशिने र अपेक्षित मात्रामा उत्पादन पनि नहुने अवस्था आउन लागेको रजिस्ट्रार घिमिरेको मत छ।

उनी भन्छिन्, “नयाँ मापदण्डले नर्सको उत्पादन कम हुन गइरहेको छ अनि विदेश पठाउन प्रोत्साहन गर्ने नीतिले धेरै विदेशिने अवस्था बन्दैछ।”

“यस्तो अवस्थामा भोलि नेपालमा ठूलो अभाव हुनसक्छ।”

अभाव बढ्दै गएर अहिले नेपाली नर्सको माग विदेशमा भएजस्तै नेपालमा विदेशी नर्स ल्याउनुपर्ने अवस्था पनि आउन सक्ने घिमिरेको तर्क छ।

तर केसी भने नेपालमा अवसर नै नपाएको तथा एकदमै न्यून पारिश्रमिकमा काम गर्नुपर्ने अवस्थामा विदेशको ढोका पनि बन्द गर्नु नहुने बताउँछिन्।

४. अपेक्षित रेमिट्यान्स नआउनसक्ने

यूकेमा काम गर्न जाने नर्सहरू उतै बस्ने व्यवस्था हुन्छ वा उनीहरू स्वदेश फर्कन्छन् भन्नेबारे अधिकारीहरूले स्पष्ट पारिसकेका छैनन्।

यद्यपि यूकेजस्ता विकसित देशमा पुग्ने नर्सहरूले उतै बसोबास गर्ने प्रक्रिया सुरु गर्न सक्ने अनुमान धेरैको छ।

यस्तो अवस्थामा यूके गएका नर्सहरूले त्यहाँ कमाएको रकम नेपालमै पठाउँछन् भन्ने यकिन नभएको अधिकारीहरू नै बताउँछन्।

त्यसले नेपालमा रेमिट्यान्स बढ्छ भन्ने ग्यारेन्टी नभएको जानकारहरूको भनाइ छ।

विदेशमा कति छन् नेपाली नर्स?

नेपाल नर्सिङ परिषद्का अनुसार हालसम्म नेपालबाट विभिन्न माध्यमबाट २५,००० जति नर्सहरू विदेश गइसकेका छन्।

परिषद्बाट औपचारिक रूपमै प्रमाणीकरण गराएकाहरूको सङ्ख्या २२,००० भन्दा बढी रहेको रजिस्ट्रार घिमिरेले बताइन्।

त्यसबाहेक व्यक्तिगत रूपमा पनि गएकाहरू धेरै छन्।

परिषद्‌मा करिब ७०,००० नर्स र ३५,००० भन्दा बढी अनमी दर्ता भइसकेका छन्।

घिमिरेका अनुसार हरेक वर्ष नेपालमा ६,५०० को हाराहारीमा नर्स र अनमीहरू उत्पादन हुने गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *