निर्वाचनको तयारीमा लाग्न एमाले उपाध्यक्ष पौडेलको निर्देशन

काठमाडाैं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकमा निर्वाचनको वातावरण तयार हुँदै गएको भन्दै पार्टीका सबै जनवर्गीय सङ्गठनहरुलाई निर्वाचन अभियानमा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।

उहाँले मुलुक निर्वाचनमय बन्दै गएको र अबका केही समयमै स्थानीयदेखि सङ्घीय संसद्कै निर्वाचन हुने भएकाले निर्वाचनको तयारीमा लाग्न पार्टीका सबै जनवर्गीय सङ्गठनका नेतृत्वलाई निर्देशन दिनुभएको हो ।

पार्टीको जनसङ्गठन समन्वय संयन्त्रको आज यहाँ बसेको बैठकमा उपाध्यक्ष पौडेलले फागुन मसान्तभित्र सबै जनसङ्गठनका राष्ट्रिय अधिवेशन र सम्मेलन सम्पन्न गर्न पनि निर्देशन दिनुभयो ।

उहाँले सङ्गठनहरुलाई चुस्त दुरुस्त राख्न निर्देशन दिँदै पार्टीका सबै जनसङ्गठनहरु कार्यकर्ता उत्पादन गर्ने नर्सरी भएकाले पार्टीको नीति र नेतृत्वसँग मेल खानेगरी अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

उपाध्यक्ष पौडेलले पार्टीका जनसङ्गठनहरु वैचारिक र साङ्गठनिक हिसाबले स्पष्ट हुनुपर्ने बताउँदै केही कमीकमजोरी भएमा सच्चाएर अघि बढ्न आग्रह पनि गर्नुभयो ।

सो कार्यक्रममा महासचिव शङ्कर पोखरेल र यस संयन्त्रका संयोजक भानुभक्त ढकालले सङ्गठन परिचालनका विविध विषयमा नेतृत्वको ध्यानाकर्षण गराउनुभएको थियो ।

एमालेको सो बैठकमा जनसङ्गठनका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षहरू सहभागी थिए । हालै चितवनमा सम्पन्न एमालेको १०औँ महाधिवेशनपछि जनसङ्गठन समन्वय संयन्त्रको आज पहिलो बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *