वैदेशिक व्यापारमा दैनिक ४ अर्ब ९० करोड घाटा, मंसीरसम्म १ खर्ब ८६ अर्बको कृषिजन्य वस्तु आयात

काठमाडाैं । विदेशबाट भइरहेको अत्यधिक आयातले नेपालको अर्थतन्त्रलाई थप जोखिमतिर धकेल्दै लगेको छ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महीना (मंसीरसम्म)मा रु.८ खर्ब ३८ अर्ब ४० करोड बराबरको वस्तु आयात भएको छ। यो अघिल्लो वर्षको यही अवधिका तुलनामा झण्डै ६० प्रतिशत धेरै हो।

आयात धेरै भए पनि नेपालको वस्तु निर्यातको सामर्थ्य साँघुरो छ। मंसीरसम्म नेपालले रु.१ खर्ब २ अर्ब ९२ करोडको वस्तु निर्यात गरेको छ।

निर्यात कमजोर हुँदा चालू आर्थिक वर्षको पहिलो पाँच महीनामै नेपालले वैदेशिक व्यापारमा रु.७ खर्ब ३५ अर्ब ४८ करोड घाटा बेहोरेको छ। व्यापार घाटा बितेको वर्षको यही अवधिका तुलनामा ५४.७ प्रतिशत धेरै हो।

विदेशबाट वस्तु आयात अत्यधिक चुलिएपछि नेपाल राष्ट्र ब्यांकले आयात गर्दा व्यापारीले शुरूमै नगद मार्जिन राख्नुपर्ने व्यवस्था अघि सारेको छ।

यो व्यवस्थापछि आयात खुम्चिने अपेक्षा गरिएको राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्। अधिकारीले अनावश्यक सामान आयात गरी बिस्कुन लगाउने प्रवृत्तिलाई निरुत्साहित गर्न खोजिएको तर्क गरेका छन्।

मंसीरसम्म नेपालले विदेशबाट रु.१ खर्ब ८६ अर्ब ४७ करोड मूल्य बराबरको कृषिजन्य वस्तु आयात गरेको छ। यो कुल आयातको २२.२४ प्रतिशत हो।

यसमा, करीब रु.३३ अर्ब ९४ करोडको अन्न, रु.१० अर्ब ८४ करोडको फलफूल, रु. १९ अर्ब ५७ करोडको तरकारी, रु. ६९ अर्ब ८४ करोडको घ्यू-तेल लगायत वस्तु छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *